सबैलाई पठाउनु होला

युक्रेनको सीमाबाट रुसले आफ्ना सेना फर्काउन थालेको दाबी झुटो भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन्। ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र “कुनै पनि बेला झुटो अवस्था” देखाएर आक्रमण गर्न सक्ने बताएका छन्।

रुसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ। तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन्।

उपचार सुविधासहित रुसले बख्तरबन्द, हातहतियार र करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको छ। यसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन्। आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ।

यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको अनुमान गरिएको छ। केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको सङ्केत भएको बताएका छन्।

यस्तो सहायता इकाईहरू आक्रमणको लागि सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन।

रुसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ भएका छन्। केही नयाँ सैन्य इकाईहरू रुसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन्।

सबैभन्दा गह्रौँ हतियारहरू युक्रेनको सीमाभन्दा ८० माइल टाढाको कुर्स्क हुँदै रेलबाट ल्याइएका छन्। अरू साधनहरू कराचेभ क्षेत्र सडक मार्क हुँदै ल्याइएका छन्।

यसअघि अधिकांशले युक्रेनको सीमा नजिक तैनाथ भएका रुसी फौजहरूको सङ्ख्या एक लाख भएको आकलन गरेका थिए। तर बिहीवार पश्चिमा अधिकारीहरूले पुरानो आकलनभन्दा धेरै फौज युक्रेन सीमामा रहेको र त्यसको सङ्ख्या एक लाख ३० हजार पुगेको बताएका छन्।

यूकेका रक्षामन्त्री बेन वालेसले रुसले उसको आधा लडाकु फौज युक्रेनको सीमा नजिक बेलारुसमा तैनाथ गरेको बताएका छन्। यक्रेनले पनि यस्तै सङ्ख्यामा फौजहरू रहेको जनाएको छ। उसका अनुसार रुसले एक लाख १२ हजार स्थल सेना र १८,००० जल र वायुसेना तैनाथ गरेको छ।

रुसी सेनाबाहेक युक्रेनको लुहान्स्क र डोनेस्क क्षेत्रमा थप १५,००० भन्दा बढी रुसी पृथकतावादीहरू रहेको अनुमान गरिएको छ। युक्रेनले यो सङ्ख्या अझै बढी रहेको हुनसक्ने आकलन गरेको छ। गत डिसेम्बरमा अमेरिकी गुप्तचर मूल्याङ्कनले यस्तो फौजको सङ्ख्या एक लाख ७५ हजार पुग्ने आकलन गरेको थियो।

धेरै विज्ञहरूले युक्रेनमाथि पूर्ण आक्रमणका लागि रुसले अहिले भर्ती गरेकोभन्दा धेरै फौज आवश्यक पर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com