काठमाडौँ — नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति बिना सदनमा एमसीसी पेस गर्ने कार्यसूची आएको भन्दै आपत्ति प्रकट गरे । उनले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी पेस गर्ने कार्यसूची रहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको बताए ।
‘सदन अवरुद्ध भएको अवस्थामा सदन सुचारु हुँदैन भन्ने मान्यता छ, यो लोकतान्त्रिक विधि र मान्यता पनि हो । संसद अबरुद्ध भएको बेला कुनै पनि एजेन्डा र छलफल कार्यसूची प्रस्तुत गर्न पाइँदैन । गएको छ महिनादेखि धेरै विधेयकहरू पाइपलाइनमा छन्, फेरीपनि कुनै पनि विधेयकमा छलफल भएको छैन,’ उनले भने ।
उनले संविधन र सन्धि ऐनसँग समेत मेल नखाने गरी एमसीसी सम्झौता जस्तो एउटा आर्थिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउन नमिल्ने बताए ।
‘एमसीसीमा गम्भीर प्रकारका राष्ट्रियहित प्रतिकूल प्रावधानहरू छन्, यसमा संशोधन गर्नुपर्छ, अनिमात्रै प्रक्रिया अघि बढाउन सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ उनले भने ।

