बुधबार दार्जिलिङको एमएफसी फुटबल क्लबलाई ३–० ले हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबले पाँचौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोर्डस्थित डोलालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीलाई उपाधिनजिक पुर्याउने क्रममा सन्तोष तामाङ, कप्तान जर्ज प्रिन्स कार्की र विकास तामाङले एक-एक गोल गरेका थिए ।
आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि चुमिसकेको छ । काठमाडाैंमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको आर्मीले अब फाइनल प्रवेशका लागि चौथो स्थानमा रहेको सातदोबाटोसँग प्रतिस्पर्धा गर्नेछ । १०औँ मिनेटमा सन्तोषले दार्जिलिङका गोलरक्षक कुन्जाङ भुटिया आफ्नो क्षेत्रभन्दा अगाडि बढेको मौकाको फाइदा उठाउँदै लामो दूरीबाटै उत्कृष्ट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । सुरुमै गोल बेहोरेपछि दार्जिलिङको एमएफसी सम्हालिन सकेन । दबाबमा रहेको एमएफसीका खेलाडीबीच तामलमेल खेलको अन्तिम समयसम्म मिलेन । आर्मीले ३५औँ मिनेटमा कप्तान जर्ज प्रिन्सको गोलसँगै २–० को अग्रता बनायो । प्रिन्सले पोस्टभन्दा २३ यार्ड टाडाबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा दार्जिलिङको एमएफसीले खासै राम्रो प्रदर्शन गर्न सकेन । आर्मीले दोस्रो हाफमा एक गोल मात्र थप्यो । ६८औँ मिनेटमा आर्मीका विकासले ३–० का लागि गोल गरे । विकासले जर्ज प्रिन्सको कर्नरमा गोल गरेका हुन् । यसअघि १९औँ मिनेटमा एमएफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गोल प्रयास गरेका थिए । तर, उनी गोल गर्न असफल भए ।
उनले डिबक्सबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । ५२औँ मिनेटमा एमएफसीकै आदर्श तामाङले डिबक्सबाट गरेको हेडिङ क्रसबारभन्दा केही माथि गयो । ७८औँ मिनेटमा कप्तान प्रतीक लामाको पासमा रोवर्ट खोन्जोले गरेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।
नवीन न्यौपाने, प्रशिक्षक, त्रिभुवन आर्मी:-
खेलमा रणनीतिअनुसार नै समयमै स्कोर निस्कियो । हामीलाई धेरै सजिलो भयो । हामीले लिएर आएको टार्गेट पूरा भयो । पहिलो म्याच खेल्न केही असहज भयो । हामीले स्कोर गरेपछि बचेर खेल्ने रणनीति अपनायौँ । हामीले डिफेन्स बलियो बनायौँ । खेलमा स्कोर खाएपछि विपक्षीले आक्रामक भएर खेल्छ । यो खेलमा पनि यही भयो । हामीले धेरै मौका बनायौँ । तर, सदुपयोग गर्न सकेनौँ । खेल हेर्दा गोल मार्जिन अझै हुनुपर्ने हो । तर, कम भयो । अबको खेल सातदोबाटोसँग छ । त्यो खेलचाहिँ अझ तयारी गरेर खेल्छौँ । यो खेलजस्तो चाहिँ पक्कै पनि हुँदैन होला ।
रेवाङ भुटिया, प्रशिक्षक, एमएफएसी: “दोस्रो हाफमा हामी कमजोर भयौँ।”
हामीले यो खेलको तयारी गर्न धेरै समय पनि पाएका थिएनौँ । आर्मीमा नियमित खेलाडी छन् । उनीहरू सधैँ सँगै नै हुन्छन् । उनीहरूले धेरै राम्रो खेले र स्कोर पनि गरे । हामीले पनि धेरै नै प्रयास गरेका हौँ । यहाँको वातावरणको अवस्थालाई लिएर हारको दोष दिन मिल्दैन । हामी पहाड क्षेत्रबाट आएकालाई एकैपटक खेल्दा केही गाह्रो नै हुन्छ । पहिलो हाफ ठीकै थियो । दोस्रो हाफमा हामी कमजोर बन्यौँ । नयाँ र युवा खेलाडी श्याम मुर्मु हामीसँग राम्रो अप्सन थियो । उनलाई विस्थापन्न गरौँ । तर, उसले अलिक चल्ने मौका पाएन ।

