काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन्।
महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे। एमाले अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा निर्वाचन आयोगको मतपत्रमा हरियो रङ राख्ने निर्णय नमान्ने भनि अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे।
शर्माले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए। “कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ। मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला। त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु,” शर्माले भने।
महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गरे।

