सबैलाई पठाउनु होला

काठमाडौं- बिपी कोइरालाको जीवनबारे ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्रीमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आफूमाथि लागेका आठवटा राजद्रोहको मुद्दाको पर्वाह नगरी स्वदेश फर्किएको र जनमतसंग्रहको घोषणा भएको विषयवस्तु उल्लेख गरिएको छ ।  मेलमिलापको नीति लिएर नेपाल फर्केपछि बिपी कसरी राजनेता बन्न सफल भएको र उनले गर्दा  नेपालको स्वाधीनता जोगिएको विषय डकुमेन्ट्रीमा उतारिएको छ ।

डकुमेन्ट्री हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिण एसियामा भारत–सोभियत गठबन्धनले साना मुलुकहरूमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका कारण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गरे । उनले बिपीले लिएका कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको साहसिक कदम भएको बताए ।
‘नेपालको राष्ट्रियतामाथि खतरा बढिरहेको वेलामा नेपालका राजनीतिक शक्तिहरू, यसमाथि पनि लोकतान्त्रिक शक्तिहरूको एकताको आवाज उठ्न थालेको थियो,’ खनालले भने, ‘यो आवश्यकतालाई बोध गरेर, बिपीले त्यसवेला जुन प्रकारको कदम चाल्नुभयो, त्यो वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति साहसिक कदम हो ।’ पूर्वप्रधानमन्त्री खनालले त्यसवेलामा वामपन्थी कम्युनिस्टहरूले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेन्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसका नेता बिपीपुत्र डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेन्ट्री अति उपयोगी भएको प्रतिक्रिया दिए ।  सो डकुमेन्ट्री हरेक नेपालीले हेर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेन्ट्रीमा बिपी कोइरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरूलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताए । अध्यक्ष पोखरेलले नयाँ पुस्ताका लागि यो डकुमेन्ट्री अत्यन्त महत्वपूर्ण भएको धारणा राखे ।

त्यस्तै, राजनीतिक विश्लेषक डा. राम थपलियाले बिपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताए । थापाले बिपीको राष्ट्रिय मेलमिलापको औचित्य वर्तमानमा झनै महत्वपूर्ण भएर गएको बताए । सशस्त्र प्रहरी बलका पूर्वप्रमुख सनत बस्नेतले यो डकुमेन्ट्रीबाट  अहिलेका राजनीतिक नेताहरूले राजनीतिमा नैतिकता बलियो हुने र त्यसैको बलमा राजनीति अडिनुपर्छ भन्ने सिकिदिए भने ठूलो उपलब्धि हुने बताए ।

‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com