अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनिया राष्ट्रपति सि जिनपिङबीच युक्रेनमा रसियाले थालेको आक्रमणबारे छलफल भएको छ। विश्वका शक्तिशाली राष्ट्रका दुई समकक्षीबिच भिडियो कलमार्फत झन्डै दुई घण्टा कुराकानी भएको थियो।
शुक्रवार भएको भिडियो वार्ताको मुख्य विषय युक्रेन युद्ध भए पनि दुई नेताबिच के कस्ता मुद्दामा कुरा भयो भन्ने विस्तृत जानकारी आइसकेको छैन। यद्यपि अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न चीनलाई चेतावनी दिएको भ्वाइस अफ अमेरिकाले दाबी गरेको छ। यसअघि चीनले रुसलाई सैन्य सहयोग गर्न लागेको वासिङ्टनकै कुटनीतिज्ञले जनाएका थिए।
रसिया युक्रेन युद्धपछि दुई राष्ट्रपतिबिच पहिलोपटक लामो समय छलफल चलेको हो। दुई नेताबिच के कुराकानी भयो भन्ने जानकारी दिन बाइडेन प्रशासनले अस्विकार गरेको भ्वाइस अफ अमेरिकाले जनायो। यस विषयमा बाइडेनले जिनपिङसँग कुटनीतिक तवरले युद्धको समाधान खोज्न आग्रह गरेको उल्लेख गरिएको छ।
चिनियाँ राष्ट्रपति जिनपिङले शान्ति स्थापनाका लागि अमेरिका र चीन दुबै देशको बराबर दायित्य भएको बताएको चिनियाँ सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ।

