बुटवल – भगवान सिद्धार्थ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय ध्यान केन्द्र’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अत्याधुनिक तथा सुविधा सम्पन्न ध्यान केन्द्रको पहिलो चरणको काम यसअघि नै पूरा भइसकेको हो भने अहिले धमाधम चलिरहेको दोस्रो चरणको काम पनि ९० प्रतिशत पूरा भइसकेको छ। आगामी जेठ २ गते बुद्ध जयन्तीको दिन उद्घाटन गर्ने तयारी भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ।
२०७६ को असारसम्म सक्ने लक्ष्य राखिएको सभा हलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो। दोस्रो चरणको काम आउँदो असार मसान्तसम्म सक्ने सम्झौता थियो। यस ध्यान केन्द्रमा एकैसाथ आठ हजार जनाभन्दा धेरैले ध्यान गर्न सक्छन्। ध्यान केन्द्रको संरचना निर्माण पूरा भएर सौन्दर्यकरणसँगै बाहिरी काम चलिरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।
लुम्बिनी क्षेत्र विकास कोषले ३१ करोड ७९ लाख ( मूल्य अभिवृद्धि कर सहित) रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको रुपमा प्रयोग गरिने गरी सभा गृह निर्माण कार्य थालेको थियो।
विश्वका बौद्ध धर्म मान्ने देशमात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहलसहित अन्य संरचनाहरु बनिरहेको सदस्य सचिव शाक्यले जानकारी दिए। लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उनले सोही अनुरुपका निर्माण कार्य चलिरहेको बताए। यद्यपि, कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन्।
२०७५ वैशाख १७ गते बुद्ध जयन्तीमै राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गरेकी थिइन्। पहिलो चरणमा सभा हल, दुई शौचालय, कन्ट्रोल रूमसहितका संरचनाहरू बनाउन अनक अर्घाखाँची बाबुल जेभी सिद्धार्थनगरले ३१ करोड ७९ लाखमा ठेक्का पाएको थियो। दोस्रो चरणको काम ३३ करोड लागतमा निर्माणाधीन छ। दोस्रो चरणको काम लुम्बिनी अर्घाखाँची बाबुल जेभीले गरिरहेको छ।
दोस्रो चरणको काम ९० प्रतिशत पूरा
दोस्रो चरणमा सभाहलको भित्री बाहीरी सजावट, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, कम्पाउण्ड वाल, ल्याण्ड स्केप, भीआईपी पार्किङ, विद्युतीकरण, सौन्दर्यीकरण, बुद्ध मूर्ति सहितको कलात्मक बाउन्ड्री, हरियाली बगैंचा, वाटर फाउन्टेन, साउन्ड सिस्टम जडान लगायतका काम अन्तिम चरणमा पुगेका छन्।
त्यस्तै, दोस्रो चरणमा रोष्टममा उभिएर गरिने भाषणलाई विभिन्न भाषामा अनुवाद हुने अत्याधुनिक प्रविधिसमेत जडान गरिनेछ। कोरोना महामारीका कारण केही समय अवरुद्ध भएको निर्माण कार्य त्यसपछि भने जारी छ। विकास कोषका आयोजना प्रमुख सरोज भट्टाराईले आगामी जेठ २ गते बुद्ध जयन्ती समारोह नयाँ हलमै गर्नेगरी निर्माणकार्य चलिरहेको बताए।
निर्माण कम्पनीलाई आवश्यक पर्ने सहयोग उपलब्ध हुने बताउँदै तोकिएको समयमै निर्माण सक्नेगरी जनशक्ति परिचालन गर्न निर्देशन दिइएको भट्टराईले बताए। उनले निर्माण कार्य करिब ९० प्रतिशत सकिएको र तोकिएको समयमै पूरा हुने बताए।
परिसरबाटै शान्तिको आभाष गराउने लक्ष्य
सभाहलका संरचना शान्तिको आभाष गराउने उद्देश्यसहित डिजाइन गरिएको छ। कोषका योजना प्रमुख भट्टराईका अनुसार कोरियाली गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुई वटा आँखा (स्वयम्भूका दुई आँखा) को आकृति बनाउने गरी डिजाइन गरिएको छ। दक्षिण एसियाकै नमुना र फरक शैलीमा स्टिल र फलामको प्रयोग हुनेगरी डिजाइन गरिएको हो।
परिसरमा प्रवेश गरेपछि शान्तिको प्रतीक अथवा ‘पोजेटिभ भाइब’ ल्याउनेखालका संरचनाको डिजाइन गरिएको जनाइएको छ। सकारात्मक सोचको प्रतीकको चिनोको रुपमा यसको सजावट र डिजाइन गरिएको कोषका योजना प्रमुख भट्टराईको दाबी छ।

