सबैलाई पठाउनु होला

 सोमबार बसेको पोलिटब्युरो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन सम्भव नभए पनि आवश्यकताका आधारमा अन्य शक्तिसँग तालमेल हुन सक्ने बताएका छन् ।  पाँचदलीय गठबन्धनविरुद्ध तीनै तहको निर्वाचनमा एक्लै भिडेर बहुमत हासिल गर्ने बताउँदै आएको एमालेले चुनावी तालमेलको विकल्प खुला राख्ने भएको छ ।

‘स्थानीय निर्वाचनमा आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्छ तर वाम गठबन्धन हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य महेश बस्नेतले भने । पछिल्लो समय एमालेको माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तिक्ततापूर्ण सम्बन्ध छ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले भने एमालेसँग चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ । बैठकमा पोलिटब्युरो सदस्यहरूले वाम गठबन्धन र चुनावी तालमेलबारे पार्टीको नीतिबारे धारणा माग गरेपछि अध्यक्ष ओलीले वाम गठबन्धन हुन नसक्ने तर आवश्यकताका आधारमा तालमेल हुन सक्ने बताएका हुन् ।

भुसालले भने आसन्न निर्वाचनमा वामपन्थीको जित सुनिश्चित गर्न पनि एकता आवश्यक भएको बताएका थिए । ‘वाम गठबन्धनको नाममा प्रचण्ड र माधव नेपाललाई साथ र हात दिएर हिँड्न सकिन्न,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने, ‘पार्टी फुटाउने, १९ बुँदे आरोप लगाउने, अध्यक्षलाई कारबाही गर्ने, कम्युनिस्ट पार्टीको सरकार ढाल्नेहरू नाम वामपन्थी, काम कांग्रेसपन्थीहरूसँग एकता सम्भव छैन । बरु कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने र उचित भूमिका, जिम्मेवारी दिएर जान सकिन्छ ।’ बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघु पन्तले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेपछि ओलीले त्यसको जवाफ दिएका थिए ।

‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्छ तर त्यसबारे पनि केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने निर्णय भएको छ,’ बस्नेतले भने । भुसाल र पन्तको प्रस्तावको विपक्षमा बोलेका बस्नेतसहित कर्ण थापा, हिक्मत कार्कीलगायत नेताहरूले गत निर्वाचनमा गरिएको वाम गठबन्धन प्रत्युपादक भएको र अहिले पार्टी बलियो अवस्थामा रहेकाले यसबारे सोच्नु नपर्ने बताएका थिए । त्यसबाहेक अन्य केही नेताले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेलको ढोका भने खुला राख्न सुझाव दिएका थिए ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि आवश्यकताका आधारमा अन्य दलसँग चुनावी तालमेल हुने बताए ।  उनले भने ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं तर स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्थालगायत विषय हेरेर सहकार्य वा तालमेल हुन सक्छ   ।   , ‘तर वाम एकता गर्ने निर्णय गरेर चुनावी तालमेल गरौं भनेर जाँदैनौं ।’ गुरुङले एमाले एकल शक्तिसाथ चुनावमा जाने बताए । उनले भने ‘हामी आफ्नो शक्तिमा विश्वास गर्छौं, सबै स्थानीय तहमा एकल बहुमतका साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौं  ।

निर्वाचन आयोगका गतिविधि र त्यसमा सत्तारूढ गठबन्धनको संलग्नतालाई ध्यानपूर्वक नियाल्नुपर्ने ओलीको भनाइ छ । बैठकमा ओलीले कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको बताएका थिए ।  ‘अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी भइरहेको छ,  त्यो पनि कलात्मक ढंगले भइरहेको छ, अरू आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल भइरहेको ओलीको दाबी थियो ।

ओलीले सत्तारूढ गठबन्धनसँग परामर्श गरेर आयोगले ‘रूख’ को जस्तै मतपत्रको रङ राख्न खोजेको बताए । उनले   निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकामा पनि आपत्ति जनाएका छन् । ‘सत्ता गठबन्धनसँग परामर्श गरेर हरियो, नीलो राख्नुपर्ने ? अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भन्ने कुनै मतदाताबाट प्रश्न आयो ? रङ बदलेर हरियो किन राख्नुपर्‍यो ? सकेदेखि अरू पनि हरियो बनाउँछन् होला । सूर्य कसरी हरियो हुन्छ ?’ उनले भने । यतिबेला निर्वाचन आयोग स्पष्ट रूपमा एमालेविरोधी बनेको आरोप ओलीको थियो । ‘यस पटक हामी मतपेटिका आँखाबाट ओझेल हुन दिन्नौं, हाम्रो आँखाअगाडि मत हालिनुपर्छ । हाम्रो आँखाअगाडि मतपेटिकाको सुरक्षा गर्नुपर्छ र हाम्रो आँखाअगाडि मतगणना हुनुपर्छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको विधिमा एमालेले छलफल थालेको छ । यसअघि चैत १ मा बसेको एमालेको सचिवालय बैठकले स्थानीय चुनावका लागि प्रारम्भिक  रणनीति  र योजना  तय गरेको थियो । त्यसलाई सोमबारको पोलिटब्युरो बैठकले केही परिमार्जन गरेको उपमहासचिव गुरुङले बताए । उनका अनुसार सदस्य  र  वडाध्यक्षहरूको उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने र त्यसको निर्णय पालिका कमिटीले गर्नेछ । उनका अनुसार गाउँपालिकाको उपाध्यक्ष  र अध्यक्षको उम्मेदवारको निर्णय प्रदेश कमिटीले गर्ने र   सिफारिस जिल्ला कमिटीले गर्ने भएको छ । नगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारको निर्णय पनि प्रदेश कमिटीले गर्नेछ । महानगर/उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारको  निर्णय केन्द्रीय कमिटीले गर्ने र  सिफारिस प्रदेश कमिटीले गर्ने  भएको छ ।

गुरुङका अनुसार एमालेले उम्मेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ । जसअनुसार हालका जनप्रतिनिधिको कामको  विकास  , मूल्यांकन, कार्यक्षमता र सुशासनप्रतिको दृष्टिकोण, उसको लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई मापदण्ड बनाएको छ । यसबाहेक पार्टीद्वारा सञ्चालित आन्दोलनमा उसले पुर्‍याएको योगदान र पार्टीप्रतिको निष्ठाका साथै संवैधानिक व्यवस्थाअनुसार समावेशी र सन्तुलनलाई पनि ध्यान दिएर उम्मेदवार चयन गर्ने उपमहासचिव गुरुङले बताए । उनका अनुसार एमालेले केन्द्रीय कमिटीका तर्फबाट पार्टी स्थापना दिवसका दिन (९ वैशाख) स्थानीय तहको निर्वाचनलाई घोषणापत्र जारी गर्ने भएको छ । सोही दिन ७ सय ५३ पालिकाहरूमा चुनावी प्रतिबद्धतापत्र पनि जारी गर्ने गुरुङले बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com