काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरेका छन्। मंगलबार बिहान बालुवाटार पुगेर प्रचण्डले घाइते, अपांग योद्धाहरुको सन्दर्भमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्।
भेटमा उनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद भएका परिवार र घाइतेलाई राहत तथा सुविधा उपलब्ध गराउन आग्रह गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन, लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने, गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण, सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने, पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रचण्ड जनयुद्धका घाइतेलाई वीर अस्पतालमा भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत पूर्व जनमुक्ति सेना भक्त राना मगर र गोरखा फुजेलका बिरामी (सहिद परिवार) तिलराम देवकोटालाई भेट्न मंगलबार बिहान प्रचण्ड अस्पताल पुगेका थिए।
ध्यानाकर्षण गराएका विषय :
- सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
- सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
- सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
- जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,
- सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने

