दमौली – कांग्रेस व्यास नगरपालिका–२ ले बिहीबार दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भने। उनले नेपाली कांग्रेसका वरिष्ठ नेता कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन्।
वरिष्ठ नेता पौडेलको भनाइ अनुसार ‘विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोशिश गरिरहेको छन्। त्यस्ता भ्रमलाई कांग्रेसले चिर्न सक्नुपर्छ।’ कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने छ।
नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे। फरक प्रसङ्गमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए। कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए। कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए।

