काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘माओवाद ब्राण्ड’ समातेर देश विकास नहुने बताएका छन्।
शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट देशको आर्थिक विकास हुन नसक्ने बताए।
पूर्व प्रधानमन्त्री भट्टराईले माओवादीका नेताहरूलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सौच्न पनि सुझाव दिनुभयो। उहाँले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताउनु भयो।
पूर्वप्रधानमन्त्री भट्टराईले भने, “अब हामीले माओवादी ब्राण्ड समातेर देशको विकास हुँदैन, जनयुद्धप्रति मलाई गर्व छ। तैँले हत्या गरिस् भन्छन्, मैले हत्या त गरेको होइन, क्रान्तिका क्रममा भएको हो। माओवादको एउटा फौजी पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ। पुरानो सत्ता भत्काउन त फौजी पक्षको आवश्यक्ता थियो, हामीले भत्कायौँ। तर नयाँ निर्माण गर्नको निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ। अब माओको अर्थराजनीतिको पक्षबाट पुग्दैन। माओवादी भएर होइन, अब साथीहरूले त्याङवादी भएर काम गरेमा आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ।”

