सिन्धुपाल्चोक — जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् ।
जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको थियो । ‘यहाँको झण्डै ६ रोपनी जग्गामा केही ठूला र साना गरी ६ वटा बुद्ध र अन्य बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताका मूर्ति थिए, अन्य परम्परागत संरचना पनि टुक्राटुक्रा पारेर फुटाइएछ, यो घटनाले साह्रै चित्त दुखेको छ, ’ लामाले दुखेसो गरे । स्थानीय तह आएलगत्तै आफ्नो अगुवाइमा सुरु गरिएको योजना भत्काइएपछि तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको उनले उल्लेख गरे ।
जिल्लाको सदरमुकाम चौताराबाट करिब ३० किलोमिटरको दूरीमा रहेको दुर्गम याङलाकोटसम्म कच्ची सडक जोडिएको छ । याङ्लाकोट गाउँपालिका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे तीव्र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । ‘शान्तिदूत बुद्धको मूर्ति यसरी तोडिनु पूरै दुखद भयो । यसबारे स्थलगत रुपमा गहिरो अनुसन्धान सुरु गरेका छौं । स्थानीय र शंकास्पद व्यक्तिलाई आवश्यक सोधपुछ चलिरहेको छ,’ एसपी अधिकारीले भने ।
बुद्धको मूर्ति तोडफोड हुनु बौद्ध धर्मकै अपमान भएको भन्दै तामाङ घेदुङ, बौद्ध संघ र समस्त सिन्धुबासीले नै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । नेपाल तामाङ घेदुङका जुगल अध्यक्ष फुलकाजी स्याङ्बोले यसले धार्मिक सहिष्णुतामाथि चोट पुगेको र यसले सिंगो देशलाई दु:खी बनाएको बताए । ‘विवाद या द्वन्द्व हुनु छलफलको विषय भयो । तर, यसकै नाममा कुनैपनि धार्मिक मनलाई चोट पुग्ने काम गर्नुहुन्न, अझै हाम्रो गौरव विभूति बुद्धको मूर्ति तोडिनु झनै भयानक काम हो,’ उनले भने ।
स्थानीयका अनुसार रातारात मूर्ति तोडेर ढालिएको संरचनाको अवस्था हेर्दा हतार-हतार गरि घन, गलजस्ता सामाग्री प्रयोग गरिएको देखिन्छ ।
बुद्धसँग जोडिएको जुगल
बौद्ध धर्मका बुद्धपछिका दोस्रा बुद्ध मानिने गुरु रिन्पोछे (पदमसंम्भव) र हिन्दुका अराध्यदेव महादेवसँग सम्बन्ध जोडिएको अनेक पुराना गुम्बा मन्दिरजस्ता धार्मिक सम्पदाहरु जुगल गाउँपालिमा छन् । ११ वटा चुचुरा रहेको जुगल हिमश्रृंखला हिमाली क्षेत्रको जुगल गाउँपालिकाको वडा ३ मा पर्छ । बौद्ध परम्पराअनुसार जुगल हिमश्रृंखलाकै काखमा रहेको फराकिलो जंगली इलाका, मैदानलाई नेपेमाशाल अर्थात देवताको स्वर्ग मानिन्छ ।
यहाँको तोङक्युप गुफा र मैदानमा रेन्पोछेको तपोभूमि, छेन्दाङ पाल्देन माम् अर्थात् महाकालीको बसोबासस्थल मानिन्छ । यीबाहेक ब्रम्हायाणी नदीको मूल, हजार जना अट्ने हजार गुफा, ज्युठी, ग्याप खर्क, बुम्बाशेर्बु, श्याबल पोखरीको आफ्नै धार्मिक महत्त्व र सौन्दर्यता छ ।
किन तोडफोड हुन्छन् बौद्ध सम्पदाहरु?
बुद्धको ज्ञान आफैमा शक्तिशाली छ। यथार्थ जीवनपरक शील, स्वभाव सिकाएर मानव समाजमा सबैले असल शील, असल चरित्र पालना गर्न सक्यो भने यस धर्ति मै सुख, शान्ति र स्वर्गानुभूति प्राप्त हुन्छ भन्ने बुद्धको सरल शिक्षाले बताउँछ। कतैपनि छलकपट, र स्वार्थ नबोकेको बुद्धको सरल जीवनीबाट दानव चरित्र भएका मानिसहरु असाध्यै डराउँछन्। बुद्धको बिनाहात हतियार मानवको चित्तमा बिजय हाँसिल गर्न सक्ने शिक्षा भएकाले गलत चरित्र बोकेका मानिस र उनको परम्परा माथि बुद्धको शिक्षाले जीत्ने र उनिहरुको गलत अभ्यास, चरित्र र मिथ्या परम्पराले पराजय भोग्नुपर्ने भएको हुनाले सकेसम्म मानिसहरुले बुद्धको बारेमा केहि पनि थाहा नपाओस् भन्ने चाहन्छन्। त्यसकारण त्यस्ता मनोबृत्तिले ग्रशित मानिसहरुले बुद्धलाई चिनाउने कुनैपनि बस्तुहरु भएको देख्न चाहँदैनन्।
कहाँ कहाँ नष्ट भएको छ बुद्ध सम्बन्धित सम्पदाहरु?
ईतिहास साक्षी छ, भारतको नालन्दा बिश्वबिद्यालयमा बौद्ध ग्रन्थहरु नष्ट गर्न आगोलागी गराइयो। भारतका थुप्रै ठाउँहरुमा बौद्ध सम्पदाहरु तोडफोड गरिए । अफगानिस्तानको कान्दाहारमा भएको बिशाल बौद्ध सम्पदाहरु तोडफोड गरियो।
नेपालमा पनि बौद्ध धरोहरहरु माथि ईतिहासकाल देखि आक्रमण र नष्ट गरिएको देखिन्छ। सिंहदरबार भित्र भएको बौद्ध ग्रन्थहरु राखिएको भागमा नै आगोलागी भएको थियो।
नेपालगञ्जको काँक्रेबिहारको बुद्ध मुर्ती पनि तोडिएको थियो। बुटवल भैरहवा सडकखण्डमा राखिएको बुद्ध प्रतिमाहरु पनि फोडिएको थियो ।
अहिले सिन्धुपाल्चोकको जुगल-७ को मन्थलीमा निर्माणाधिन मुर्तिहरु तोडिएको छ। यसरी बुद्ध सम्पदा माथि आक्रमण गरेर बुद्धको जन्म भएको नेपालमा नै बुद्ध कै अपमान गरिएको छ।
तर नेपाल सरकारले यस्ता अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्न र कार्वाहि गर्न सकिरहेको छैन। प्रहरी प्रशासनले पनि अपराधी पत्ता लगाउन सकेको छैन। कस्ता कस्ता अपराधको रहस्य उजागर गर्न सक्ने नेपाल प्रहरी बौद्ध सम्पदा माथि आक्रमण गर्नेहरुलाई चाहिं छुन समेत सक्दैन। पत्ता नलागेको र थाहा नपाएको भनेरै उदासिनता देखाउने काम प्रहरी प्रशासनले गरिरहेको छ।

