बाजुरा — भारतीय दूतावासको अनुदान सहयोगमा निर्माणाधीन विद्यालयका भवन सात वर्षदेखि अलपत्र परेका छन । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको जनप्रकाश माध्यमिक विद्यालयका तीनवटा भवन अलपत्र परेका हुन् । निर्माणकार्य सम्पन्न हुन नसकेपछि आधा बनेको विद्यालय भवनका कोठाहरू जीर्ण हुँदै मक्किन थालेका छन । ठाउँठाउँमा ढुंगाको गारो भत्किएको छ । निर्माण सामग्री असरल्ल छन् । निर्माण सुरु गरिएका भवनका संरचनाहरू खण्डहरजस्तै देखिन थालेका छन् ।
निर्माण कार्य रोकिएपछि अलपत्र परेको बाजुराको जनप्रकाश माविको भवन ।
११ वटा कक्षाकोठा, बैठक कक्ष, प्रधानाध्यापकको कार्यालय, शिक्षक कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला, लेखा शाखा, प्रशासन शाखा, छात्र र छात्रा शौचालयसहितको अढाई तले विद्यालय भवन र छात्रा र छात्रका लागि छुट्टाछुट्टै छात्रावाससहित ३ वटा भवनका लागि दूतावासले अनुदान सहयोग गरेको थियो । तर यी भवन सात वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन । २०७४ देखि अधुरा संरचना निर्माणको काम पनि रोकिएको छ ।
२०७२ चैतमा तल्कालिन जिल्ला विकास समितिले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी गाल्वा निर्माण सेवासाग ठेक्का सम्झौता गरेको थियो । मुल्यअभिबृद्धी कर बाहेक तीनवटा भवन र आवश्यक फर्निचरसमेत व्यवस्थागर्ने गरी करिब ३ करोड ५० लाखको लागतमा सम्पन्न हुने सम्झौता भएको भएपनि निर्माण कार्य अधुरै छोडिएको छ । भवन निर्माणमा हालसम्म १ करोड ७० लाख रकम खर्च भैसकेको छ ।
निर्माणको सम्झौता तत्कालिन जिल्ला विकास समितिसाग भएको र २०७४ सालमा देश संघीय संरचनामा गइसकेपछि विद्यालय निर्माणको काम स्थानीय तहलाई हस्तान्तरण नहुादा निर्माण कार्य अलपत्र परेको गाल्वा निर्माण सेवाका प्रतिनिधि गणेश बहादुर गिरीका छोरा पदम गिरी (बुढीनन्दा नगरपालिकाका मेयर) ले बताए । ‘संघीय संरचनामा गइसकेपछि जिससलाई निर्माणको काम गर्ने अधिकार छैन । प्रक्रिया पुर्याएर स्थानीय तहलाई हस्तान्तरण गर्नु पर्ने थियो त्यो पनि भएन,’ उनले भने ‘रकमको सुनिश्चितता नभए पनि निर्माण कम्पनीले कामगर्न सक्ने कुरा पनि भएन । यही कारण अहिलेसम्म भवनहरू अलपत्र परेका हुन ।’ उनले हालसम्मको निर्माणकार्य गर्दा पेश्की प्राप्त गरेको भन्दा बढी रकम खर्च भैसकेको बताउदै रकमको सुनिश्चितता हुने वित्तिकै अधुरो निर्माणको काम सम्पन्न गरिने बताए ।
अलपत्र संरचनाको निर्माण सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिले पनि पहल गरिरहेको निमित्त जिल्ला समन्वयअधिकारी दिपेन्द्र पाण्डेको भनाई छ । ‘हामीले विद्यालयको अवस्थाबारे संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयलाई पनि लेखी पठाएका छौ’ पाण्डेले भने ‘भवन नहुादा स्कुलको पठनपाठन भद्रगोल भएको छ भनेर ध्यानाकर्षण गराइ रहेकाछौ । मन्त्रालयबाट दुतावासलाई यो बारे जानकारी गराइएको खबर आएको छ । हेरौं के हुन्छ ।’ उनले आफुहरूको दुतावाससाग सिधा सम्पर्क नभएकोले यस विषयमा दुतावासको धारणाबुझ्न नपाएको बताए ।

