पोखरा – आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्थाबाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ। नेपाल हवाई खेलकुद संस्थाद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी थालिएको जानकारी गराइयो।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिएको हुन । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको हो ।

