धनगढी, कञ्चनपुर – २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।
पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् ।
पार्टी प्रवेश गर्न लागेका उनीहरुलाई आइतबार दिउँसो वेदकोट नगरपालिका–३ दैजीस्थित जयशंकर सामुदायिक वनमा आयोजना हुने कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने एकीकृत समाजवादीले जनाएको छ ।।

