काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको छ। सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो।
मुद्दा हेर्न नमिल्ने सूचीमा राखेएपछि आइतबार सुनुवाइ भएन। यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइ आइतबारका लागि मिति तोकेका थिए।
सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए।

