सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेका बताएका छन् । मन्त्री कार्कीले प्रविधिको रुपान्तरण, विकास र मल्टिमिडियाको आवश्यकताअनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रहका गारेका छन ।
रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा बोल्दै उनले देशको सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्याउन जरुरी रहेको पनि बताएका छन् ।
सुदूर गाउँको समस्या र सम्भावनालाई उजागर गर्नेगरी रेडियो नेपालले अझ विश्वसनीय , निष्पक्ष, तथ्यपूर्ण, र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो । उनले रेडियो नेपाललाई बदलिँदो परिवेश र त्यसले निम्त्याएको प्रतिस्पर्धामा खरो ढंगले उत्रन पनि आग्रह गरेका छन् ।
मन्त्री कार्कीले राष्ट्रिय प्रशारण संस्था हुनुको नाताले रेडियो नेपालले राष्ट्रिय दायित्वलाई समेत हेरेर काम गर्नुपर्ने स्पष्ट पारेका छन् । ‘अझै पनि देशको सतप्रतिशत भूभागमा रेडियो नेपाल सुनाउन यसले थप सेवा प्रशारण गर्ने कार्यमा लाग्नुपर्ने आवश्यक्ता छ । वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपाल समय सुहाउँदो नविनतम प्रविधिहरुको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्नुपर्दछ । र, राष्ट्रिय दायित्व बोध गर्दै देशको बहुलतालाई सम्मान गर्दै सुदूर गाउँको समस्यालाई र सम्भावनालाई सम्बोधन गर्न जरुरी छ ’ , उनले भने।
मन्त्री कार्कीले राष्ट्रको धरोहरको रुपमा रहेको रेडियो नेपाललाई थप उचाईमा लैजान सरकार लागि परेको उल्लेख गर्दै यसमा रेडियो नेपालमा आवद्ध सबै सञ्चारकर्मी, व्यवस्थापक र प्राविधिकहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

