उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३, बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको छ ।
गाइघाटमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बेलका ३, किराँतचोकका १९ वर्षे विनोद ढकाल खत्रीलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत सिक्किमको बियुङ घर भई बेलका ३ स्थित, जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षे विनोद ढकाल र बेलका ३ कै जितबहादुर ढकाल (खत्री) की १७ वर्षीया छोरी सरिता ढकाल रहेका छन् । तर, सरिता नाबालिका रहेको भन्दै प्रहरीले उनलाई सार्वजनिक गरेको छैन् ।
हिजो दिउँसो रामपुरमा बसेको सर्वदलीय बैठकले हत्या आरोपित सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
हत्या भई मृत्यु भएकी कविता सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूबारे पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘घटनाको अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘यस क्रममा दुई जना युवकलाई नियन्त्रणमा लिएका छौँ ।’
ट्युसन जान भनेर घरबाट निस्केकी कविता हिजो बिहान मृत फेला परेकी थिइन् । यसोदा खोलाको डिलमा काठका मुढाहरू थुपरिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । स्थानीयवासीले चाहिँ याे हत्या नै भएकाे र दोषीमाथि कडा कारवाही गर्नुपर्छ भन्दै नाराबाजी गरिरहेका थिए ।
घाेप्टो परेकाे अवस्थामा रहेको मृतक कविता सुनुवारको शवमा चाेटपटक लागेको र सो घटनास्थलनजिकै स्थानीय युवा, महिला र विद्यार्थीहरूले हत्यारा पत्ता लगाएर हदैसम्मको कारबाही माग गर्दै प्रदर्शन गरिरहेका थिए । मृतक कविता स्थानीय श्री कोसी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्ययनरत थिइन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–३, बुद्धचाेककी ती मृतक किशाेरी ट्युसन पढ्न हरेक बिहान श्री काेसी जनता माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी सधैंजसो हिजो बिहान पनि ५ बजेतिरै ट्युसन जान भनेर घरबाट निस्केकी थिइन् ।
तर बिहान ७ बजे केही स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि किशाेरीकाे शव जस्ताको त्यस्तै घटना स्थलमा नै राखेर इलाका प्रहरी कार्यालयको टोलीले शव छेउछाउ कसैलाई जान दिएको थिएन । प्रहरीले शवको अवस्थाबारे समेत जानकारी दिन मानेको थिएन । ‘हामी घटनास्थलमै छौँ । हत्याजस्ताे देखिन्छ । थप अनुसन्धान भइरहेको छ’, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसा ददाहालले भनेका थिए ।
घटनास्थल किशाेरीकाे घरबाट करिब एक किलाेमिटर पूर्वमा छ । यशाेधा खाेलाकाे डिलको मुढामा घाेप्टाे परेकाे शवको वरि परि प्रहरी तैनाथ थिए । घटना कसरी भयो, यसमा कोही जोडिएका छन् वा छैनन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको थियो । मृतक किशोरी कविता सुनुवारकी अविभावक, आफन्त र छिमेकीहरुको उपस्थिति पछि प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाइसकेपछि पोष्टमार्टमका लागि शवलाई गाडीमा हाली लगिएको थियो।
‘यस्तो घटना फेसबुक, युट्युब अनि अनलाइन समाचारमा हेर्थ्यौं’, बुद्धचोकका एक स्थानीयले भने, ‘हुँदाहुँदा आफ्नै गाउँमा यस्तो डरलाग्दाे अपराध हुन थाल्यो । हामी सबै डराएका छौँ ।’
घटनास्थलको छेउमा स्थानीयवासीले नाराबाजी गरिरहेका थिए । कविताको हत्या भएको आशंका स्थानीयवासीको थियो । घटनास्थलको छेउमा भेला भएका महिलाहरूले महिला हिंसा बन्द गर्, कविताको दोषी पहिचान गरी कारबाही गर् भन्दै नारा लगा इरहेका थिए । कविताकाे हत्या नै भएकाे हो भन्दै स्थानीयवासीले प्रहरीलाई अनुसन्धानमा कुनै कमजोरी नगर्न खबरदारीसमेत गरेका थिए ।
मृत भेटिएकी किशाेरीका बुवा गाउँमै मिस्त्री काम गर्छन् भने आमा गृहणी हुन् । उनकी दिदीकाे विवाह भइसकेकाे छ । ८ वर्षे भाइ बुद्धचाेककै बाेर्डिङ स्कुलमा पढ्छन् । बेलका नगरपालिका उदयपुरकाे पूर्वी भेगमा छ ।
मृत फेला परेकी १५ वर्षीया छात्रा कविता सुनुवारको हत्या भएको भन्दै श्री कोसी जनता मावि (१०+२) ले भर्त्सना गरेको छ । साथै बेलका नगरपालिकाको सुरक्षा संयन्त्रमाथि प्रश्नसमेत उठाएको छ । ट्युसन पढ्न घरबाट आउने क्रममा छात्रा मारिनुले बेलका नगरपालिकाको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहले जारी गरेको विज्ञप्तिमा कविताको हत्यारालाई चाँडोभन्दा चाँडो पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

