काठमाडौं – एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा मिडफिल्डर विशाल राई थप भएका छन् । यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
त्यसमा विशाल राईलाई थप गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बन्द प्रशिक्षण यही अप्रिल १५ देखि सुरु हुनेछ । राष्ट्रिय टिमका नियमित सदस्य राईलाई मुख्य प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाएका थिए ।
तर लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका विशाल राईसहित मछिन्द्रका खेलाडीहरु एएफसी कपको प्रारम्भिक चरणको खेल खेल्न थाइल्याण्ड गएका थिए । विशाल राई सम्मिलित मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणमा श्रीलंकन ब्लु स्टार एससीसँग पहिलो खेलमा पराजित हुँदै बाहिरिसकेको छ ।
आगामी जुनमा कुवेतमा हुने एसियन कप छनोटको समूह ए मा रहेको नेपालले कुवेत , जोर्डन र इण्डोनेसियासँग खेल्नेछ ।

