सबैलाई पठाउनु होला

काठमाडौँ  –  उपत्यकामा सजिवन कोसाको होलसेल मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ छ । स्थानीय र भारतबाट ल्याइएका सजिवनको होलसेल मूल्य भने प्रतिकिलो एक सय रुपैयाँ रहेको कालीमाटी  तरकारी तथा फलफूल बजार विकास समितिले जनाए  ।

सजिवनको कोसा खुद्रा बजारमा प्रतिकिलो तीन सयदेखि चार सय ५० रुपैयाँ पर्छ । बजारमा विदेशी सजिवन बिक्रीवितरण भइरहे पनि किसानको जोड सजिवनको पातमा देखिन्छ । तराई क्षेत्रमा सबैजसोका घरमा हुने सजिवनको व्यावसायिक खेती पनि भइरहेको छ ।

व्यावसायिक खेती गर्नेले पनि सजिवनको कोसाभन्दा पातलाई जोड दिएका छन् । सजिवनको पातको पाउडर बनाएर प्रतिकिलो ८५० देखि ३ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी  भन्छन  ।

सजिवनको पात ४५/४५ दिनको अन्तरमा टिप्न मिल्छ । यसको डाँठ, फूल, कोसा र बियाँ सबै प्रयोग गर्न मिल्छ । रूपन्देहीस्थित वैकण्ठपुरका गोविन्दप्रसाद कँडेलले ७ वर्षदेखि सजिवन खेती गरिरहेका छन् । रोजगारीका क्रममा ९ वर्ष दुबई बसेका उनले २०७१ सालमा साढे ३ लाख रुपैयाँ लगानी गरेर खेती सुरु गरेका  थिय ।

दुबईमा यसबारे जानकारी लिएका उनले तीन बिघा जग्गाबाट खेती सुरु गरेका थिए । अहिले २३ बिघामा यसको खेती गरिरहेका छन् । ‘सजिवनका पात औषधिमा, फूल अचारमा, कोसा तरकारीमा, बोक्रा र जरा पनि औषधिमा प्रयोग हुन्छ । तर मैले पात मात्र प्रयोग गरेको छु,’ उनले भने ।

स्थानीय किसानसँग प्रतिकिलो ४० रुपैयाँमा सजिवनका पात किन्ने गरेका उनले वार्षिक ५० टन पाउडर उत्पादन गरी बिक्रीवितरण गरिरहेका छन् । यसबाट अहिले वार्षिक १० देखि ५० लाख रुपैयाँ आम्दानी गरिरहको उनले  बताएका छन् ।

उनले भने  , ‘सुरुवातमा भारतको तामिलनाडुमा बीउ ल्याएर बिरुवा उत्पादन गरेको हुँ’ । अहिलेसम्म खेती र उद्योगमा ३० लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । ‘धेरै मात्रामा पाउडर लिइरहनेलाई प्रतिकिलो ८५० रुपैयाँमा बेच्छौं, खुद्रामा एक हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘काँचो १० किलो सजिवनको पातको एक किलो पाउडर निस्कन्छ,’ उनले भने, ‘२३ जनालाई रोजगारी पनि  दिदै आएको  छु ।’

ड्रमस्टिक, शीतलचिनी, सहिजन, सैजन, सजिवन, मनुगा, मोरिंगालगायत नामले सजिवनलाई चिनिन्छ । नेपालको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा उत्पादन हुने सजिवनका कोसाले बजार पाउनेमा ढुक्क नहुँदा किसान यसप्रति त्यति ढुक्क भने छैनन् ।

धेरैजसो किसानले सजिवनको पात नै टिपेर बेच्ने गरेका छन् । नेपालगन्जका हेमन्तराज काफ्लेसहितको ३ जनाको समूहले पनि १० वर्षदेखि सजिवन खेती गरिरहेको छ । काफ्लेको समूहले ५ वर्षदेखि  तेल ,  पाउडर र चियापत्ती  उत्पादन गरी बिक्रीवितरण गरिरहेको  छ  ।

सजिवनको पाउडर किलोकै तीन हजार रुपैयाँ पुग्छ । चियापत्ती भने प्रतिकिलो २५ सय रुपैयाँ पर्ने गरेको काफ्लेले बताएको छ  । उनीहरूले सजिवनको बियाँबाट तेल पनि उत्पादन गरिसकेका छन् । तर महँगो हुँदा बजारमा लैजान नसकिएको उनले सुनाएको छ  ।

‘१० किलो सजिवनको दानाबाट एक लिटर मात्र तेल निस्कियो । बियाँ मात्र प्रतिकिलो ६ हजार रुपैयाँ छ,’ उनले भने, ‘यो हाम्रो कल्पनाबाहिरको भयो । त्यसैले निर्यात गर्ने कि भनेर जापानका व्यवसायीसँग छलफल अघि बढाइरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com