काठमाडौं – बिहारको सुपौलमा केही दिनअघि सदरमुकाम इलाकाको छपकाही गाउँमा काग र कुखुरा अचानक म’र्न थालेका थिए । त्यसपछि पशुपालन विभागले यस विषयमा अनुसन्धान गर्दा गाउँबाट चराका लागि लिएको नमूनामा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि पशुपालन विभागले बर्डफ्लुको भाइरस अन्य क्षेत्रमा नफैलियोस् भनेर गाउँको १ किलोमिटर क्षेत्रभित्रका कुखुरा मा’र्ने काम थालेको छ ।
छपकाही गाउँको ९ किलोमिटरको परिधिमा पनि अनुसन्धान सुरु गरिएको छ । दुई साताअघि छपकाही गाउँपालिकाको वडा नम्बर १ देखि ११ मा अचानक कुखुरा, हाँस र कागको मृत्यु भएपछि पशुपालन विभागको टोलीले गाउँमा गएर अनुसन्धान गरेको थियो । पटनाबाट टोली बोलाएर संक्रमित चराको नमूना लिएपछि अनुसन्धानमा बर्डफ्लुको घटना बाहिर आएको हो ।
पशुपालन विभागका निर्देशकको आदेशमा एसपी डी अमरेश र सुपौलका डीएम कौशल कुमारले संयुक्त निर्देशन जारी गरी टोली गठन गरेका छन्। यो टोलीलाई संक्रमित चरा मा’र्ने जिम्मा दिइएको छ । साथै बर्डफ्लु भाइरस फैलिन नदिन यस क्षेत्रको १ देखि ९ किलोमिटरको दायराभित्रका सबै गाउँमा चेकजाँच गर्न टोली गठन गरिएको छ ।
यसको उद्देश्य बर्ड फ्लु भाइरसलाई सीमित दायरामा समयमै रोक्नु हो। छपकाही गाउँलाई केन्द्रका रुपमा लिएर पशुपालन विभागले १ किलोमिटरको दायराभित्रका सबै गाउँका कुखुरा मा’र्न ४ टोली बनाएका छन् । सोही क्रममा घटनास्थल पुगेका जिल्ला पशुपालन अधिकृत रामशंकर झाले चरा पाल्ने सबैलाई मुआब्जा समेत दिइने बताएका छन् ।

