जाजरकोट – जाजरकोटमा एक किशोरलाई १३ वर्षदेखि खोरमा थुनेर राखिएको छ। बारेकोट गाउँपालिका–४ रावत जिरीका १६ वर्षीय भीमराज रावतलाई खोरमा थुनेर राख्दै आइरहेका छन् ।
तीन वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका कारण उनलाई खोरमा राखिएको आफन्तको भनाइ रहेको छ। गरिब परिवारमा जन्मेका भीमराजको २ भाइ र १ बहिनी छन्। उनको बुवाआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण उसको उपचार गर्न समेत सकिराखेको छैन ।
भीमराजको उपचार गर्न ऋण खोजेर कहिले काठमाडौं, कहिले नेपालगन्ज, त कहिले भारतका अस्पताल धाए। तर, भीमराजको उपचार हुन सकेन। त्यसैले उनलाई राख्नका लागि बुवाले बाख्राको जस्तै खोर बनाएर राखेका छन्। उनलाई खोरभित्र नराख्दा घरपरिवार वा जो कोही भेटिए माथि झम्टिन्छन्।
कहिले ढुंगा त कहिले दाँतले आक्रमण गर्छन्। भीमराजको उमेर बढ्दै जाँदा परिवारका मान्छे चिन्तित भएका छन्। मानव चेतना नभएझै देखिने भीमराज झट्ट हेर्दा बलिया देखिन्छन्। कहिलेकाहीँ उनलाई नियन्त्रण गर्न निकै गाह्रो हुने उनका दाई विष्णु रावत बताउँछन्।
आर्थिक अभावले सुविधा सम्पन्न अस्पतालमा लिएर उपचार गर्न नसकिएको बताउँदै उनले भने, ‘कसैले सहयोग गरे उपचार सम्भव हुन्थ्यो कि ?,’ उनलाई खोरभित्रै खाना र पानी दिने गरिएको विष्णुले बताए ।
खोरभित्र थुनिएका भीमराजले लगाएका कपडासमेत फुकालेर फालिदिने गरेका छन्। दिसापिसाब गराउनसमेत समस्या हुने गरेको छ। ‘कहिलेकाहीँ बस्ने ठाउँमै दिसापिसाब गरिदिन्छ,’ विष्णुले भने, ‘साह्रै सताएको छ।’
आमाबुवा निकै सोझा हुनुहुन्छ। कहाँ कसरी उपचार हुन्छ केही थाहा छैन। छोड्यो कि उपद्रो मच्चाइहाल्छ। त्यसैले भीमराजलाई फलामे खोरभित्र थुनेर राखिएको स्थानीय सुरेन्द्र सिंहले बताएको छ ।

