काठमाडौं – सोसल मिडियाको प्रभाव कतिसम्म छ भने दूरदराजका एक गुमनाम व्यक्ति रातारात ‘भाइरल’ हुन्छन् । युट्युब, फेसबुक र टिकटकभरि उनलाई छताछुल्ल बनाइन्छ । मानिसहरु उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँछन् कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन ।
टिकटक बनाउनेदेखि युट्युबमा भिडियो बनाउनेहरू उनलाई पछ्याउन थाल्छन् ।आफ्नो बोलीचाली र हाउभाउमा मान्छे किन यसरी लम्पट भएका हुन् ? सम्भवतः उनले कुनै भेउ पाएका छैनन् ।
उनीसँग न मोबाइल छ, न इन्टरनेट, न टिकटक एकाउन्ट । जसैजसै मान्छेहरू उनको वरिपरि झुम्मिन्छन्, उनी बेपर्वाह बोलिदिन्छन् । त्यही बोली र हाउभाउ ‘मनोरञ्जनको खुराक’ बन्छ, सामाजिक सञ्जालमा रमाउनेहरूका लागि ।
जसरी उनी ‘भाइरल’ हुँदै जान्छन्, त्यसलाई ‘क्यास’ गर्ने हतारो उत्तिकै हुन्छ । अन्ततः कोही उनलाई काठमाडौं ल्याएर अभिनय गराउने सुरसार गर्छन्, कोही गीत रेकर्ड गराउने ।
ज्याला मजदुरी गर्ने भेलु बाजे
स्थायी बसोबास प्युठान । सामान्य पारिवारिक अवस्था रहेको रहेको छ । ६१ वर्षीय मेनबहादुर बुढा ‘भेलु बाजे’ । सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो ।
एक जना व्यक्तिले उनको हातमा मोबाइल थमाइदिन्छन् र -यापर साकारले रेकर्ड गरेको अडियोलाई अन गरेर तपाईंसँग बोल्ने रे बाजे भन्छन् । उनलाई त्यो फोन आएको होइन, रेकर्ड गरिएको अडियो भन्ने भेउ पनि छैन ।
उनी त्यो अडियो सुनेर अडियोमा बोल्ने मानिसलाई गाली गर्न थाल्छन् । उनले कुरा गरेको भिडियो टिकटकमा एकाएक भाइरल हुन्छ । उनको बोल्ने टोन, तोडिलो जवाफलाई धेरैले मन पराउँछन् ।
त्यसपछि टिकटकर र युट्युबरहरु उनको वरिपरि दौडिन थाल्छन् । युट्युबबाट टिकटक हुँदै फेसबुक र ट्विटर प्रयोगकर्ताले पनि उनको बोल्ने शैली र भाषालाई एकदमै रुचाएको छ ।
बेल्कुल–बेल्कुल
उनी आफ्नो कुरा अभिव्यक्त गर्न अर्कै भाषा र टोन प्रयोग गर्छन् जसलाई मानिसहरूले एकदमै रुचाउँछन् । उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरे ।
टिकटक र युट्युबमा यति धेरै भाइरल भएका भेलु बाजेलार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गरायो । मनकामना रोधीघरले पनि उनलाई राधिका हमालसँग लाइभ दोहोरीमा घम्साघम्सी गरायो । वरिष्ठ संगीतकार बीबी अनुरागीले पनि भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराएका छन् ।
मोबाइल छैन, तर मोबाइलभरि उनी छन्
भेलु बाजे मात्र होइन, टिकटकबाट भाइरल हुनेको संख्या अहिले बढ्दो छ । तर यस्तो दुर्गम ठाउँको व्यक्ति जसलाई न टिकटकको ज्ञान छ, न त अन्य सामाजिक सञ्जालको । उनको साथमा मोबाइल छैन र घरमा टीभी पनि छैन, तर त्यही टिकटक र सामाजिक सञ्जालबाट नै उनी भाइरल भएको छ ।
न अभिनयको ज्ञान, न त गीत संगीतको ज्ञान, तर भाइरल भएकै कारण उनले अभिनय गर्ने र गीत गाउने अवसर पाएको छ । टिकटक र युट्युबले त उनको जीवनशैली नै परिवर्तन गरिदियो ।
गाउँमा ज्याला मजदुरी गरेर जीवन बिताएका मेनबहादुरलाई भाइरल गराउने तेजेन्द्र परियार र बमबहादुर पेस्तोल हुन् । एउटा विवाह कार्यक्रममा उनले खाना खाँदै गरेको भिडियो उनीहरूले टिकटकमा हालेका थिए ।
जसलाई एक रातमा १० लाख भन्दा बढीले हेरेका थिए । त्यसपछि उनीहरूले भेलु बाजेको अन्तर्वार्ता लिएर गामबेसी युट्युब च्यानल र लायन्स मिडियामा राखे, त्यसलाई पनि धेरैले मन पराएको थियो ।
…अनि टेलिफिल्ममा अफर आयो
मेनबहादुरको भिडियो टिकटक र युट्युबमा भाइरल भएसँगै उनलाई टेलिफिल्म ‘ख्यालठट्टा’मा अभिनय गराउन निर्देशक नेत्र राउतले अफर गरेको छ ।
६१ वर्षको उमेर पुगिसक्दा एकपटक पनि काठमाडौं नआएका भेलु बाजेको यहाँ आउने रहर थियो । त्यसैले उनले त्यो अफरलाई स्वीकारे अनि ख्यालठट्टामा अभिनय गर्न १८ घण्टाको बस यात्रा गरेर उनी काठमाडौं आइपुगेको छ ।
‘ख्यालठट्टा’मा अभिनय गरेर केही अन्तर्वार्ता दिएर दुई दिनको काठमाडौं बसाइपछि उनी प्युठान नै फर्किएको छ । अभिनयको ज्ञान नभएकाले भनेअनुसारको काम गर्न उनलाई गाह्रो भएको उनलाई काठमाडौंसम्म ल्याएका पुस्करले बताएको हो ।
गीत गाएर फर्किए गाउँ
टेलिफिल्ममा अभिनय मात्र होइन, दोस्रो पटक काठमाडौं आउँदा उनले गीत समेत गाउने अवसर पाएको छ । संगीतकार बीबी अनुरागीसँग मिलेर उनले ठाडी भाका ‘काटे डाली कैन’ गीत रेकर्ड गराएको छ ।
आम्दानीको केही स्रोत नभएका भेलु बाजेले टेलिफिल्ममा अभिनय र गीत गाएबापत राम्रै पारिश्रमिक पाएको छ । दोस्रो पटकको एक हप्ता बसाइपछि उनी प्युठान नै फर्किएको छ ।
काठमाडौंबाट फर्किएपछि उनलाई गाउँलेहरूले भव्य स्वागत गरेका थिए । घर फर्केर फेरि उनी घरायसी काममा नै व्यस्त भएका छन् । घरमा उनकी श्रीमती विष्णु बुढा र उनी मात्रै बस्छन् ।

