सबैलाई पठाउनु होला

निर्वाचन –   नेपालमा स्थानीय तहको निर्वाचनले हरेक कार्यकर्ता, जनप्रतिनिधि मात्र नभई सचेत मतदातामा समेत सरगर्मी चढिसकेको छ। यसै पनि वैशाख–जेठको मौसम, गर्मी नै  रहेको छ। जलवायु परिवर्तन, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, बाक्लो बस्ती तथा फोहोरमैलाका कारण तराई क्षेत्रमा निकै गर्मी  रहेको छ।

पहाडी भूभागमा पनि गर्मीले समस्या उत्पन्न गर्दैछ। बाह्रैमहिना सिरक ओढ्नुपर्ने काठमाडौंमा समेत अहिले गर्मी निकै बढेको छ। घामको पोलाइले घमौरा आई सताउँछ तथा पसिनाले शरीरलाई दुर्गन्धित बनाउँछ। बढ्दो गर्मीसँगै जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यतिकै समस्या  रहेको छ।

त्यसैमा सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानी व्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिँदा रोगहरूले आक्रमण नगर्ने कुरै भएन।

चिलाउने, टाइफाइड, झाडापखाला, रुघाखोकी, बान्ता  हुने, जन्डिस, भाइरल फ्लु, पेटको दुखाइ, हेपाटाइटिस ए, आँखा सुक्खा हुने,  धागोजस्ता चिरा आउने, एलर्जिक कन्जङटाइभाइटिस तथा आँखाको संक्रमणका बिरामीहरू बढिरहेका छन्।

सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या तथा लु बढ्दै रहेको  छ। गर्मी मौसममा टाउको दुख्ने, आलस्य हुने, बान्ता आउने, पानीको मात्रा कम हुने, बिरामी पर्ने आदि सम्भावना बढी रहेको  हुन्छ।

गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन्। गर्मी मौसममा धेरैजसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पुर्‍याउँछ। गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हो।

विशेषगरी काँचो र नपाकेको मासु,  खाना बढी खाने, बासी खाना, गह्रौं पचाउन नसकिने खाद्य पदार्थ प्रमुखतः चिल्लोले ‘फुड प्वाइजनिङ’ हुने हुन्छ। पटक–पटक तीन पटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ। बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ। स्मरण रहोस्, रोग हाम्रो शत्रु हो ।

सावधानीको जरुरत पर्छ। झिंगा, संक्रमित माटो र फोहोर हातले खानेकुरा बनाउँदा टाइफाइड रोग सर्न सक्छ। यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथ। बढी देखिने अर्को रोग आउँ हो। आउँ परेको बेलामा बिरामीलाई पटकपटक पातलो चिप्लो दिसासँगै रगत लाग्छ।

ज्वरो आउने तथा पेट दुख्ने हुन्छ। बिरामीको दिसामा रगत मिसिएको सेतोमासी देखा पर्छ। पखाला, झाडा बान्ता, आउँ, टाइफाइड, हैजामा जति पानी खेर जान्छ त्यति नै पानी र लवण दिनु पर्छ।

अधिक पसिना आउने, बालबालिकालाई घमौरा आउने तथा ठूला मानिसमा समेत छालामा विभिन्न प्रकारका संक्रमण तथा समस्या देखा पर्छन्। बालबालिकामा घमौरा आउने बढी नै देखिन्छ। त्यसैमा बाक्ला कपडा लगाएर गुम्साउने चलनले पसिना आउने ग्रन्थीहरू थुनिन्छ।

सेन्डफ्लाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने र कालाजर लगाउने हुन्छ। लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com