काठमाडौं – नान्ट्सले २२ वर्षपछि फ्रेन्च कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा नाइसलाई १-० ले पराजित गर्दै नान्ट्सले उपाधि जितेको हो । स्टेड ड फ्रान्समा भएको अखेलमा नान्ट्सका लागि लुडोभिच ब्लासले ४७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन ।
नाइसका हिचाम बाउडाउइले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा ब्लासले गोल गरेको हो । त्यसपछि नाइसले बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
यसअघि नान्ट्सले २००० मा कप उपाधि जितेको थियो । समग्रमा भने नान्ट्सले चौथो पटक फ्रेन्च कपको उपाधि जिते । नान्ट्सले सन् २००१ मा फ्रेन्च लिग वानको उपाधि जितेपछि पहिलो पटक ठूलो उपाधि जितेको छ ।
यसको अर्थ नान्ट्सले अर्को सिजनको युरोपा लिगमा समेत स्थान पक्का गरेका छन् । नान्ट्स २० वरष्पछि युरोपको मुख्य प्रतियोगितामा समेत फर्के । फ्रेन्च कपमा सन् २०१४ पछि पेरिस सेन्ट जर्मेन फाइनल नपुगेको यो पहिलो पटक हो ।

