काठमाडौं – निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम आगामी बुधबार र बिहीबार मतदान केन्द्रमै सञ्चालन गर्ने भएको छ। विगतमा आयोगले मतदाता शिक्षाका लागि घर–घरमै स्वयंसेवक पठाउँथ्यो।
‘वैशाख २८ र २९ गते मतदातालाई नजिकैको मतदान केन्द्रमा आउन सूचना गरिन्छ’, आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मतदान केन्द्रमा खटिने कर्मचारीले मतदान कसरी गर्ने, मत कसरी बदर हुनबाट बचाउने भन्नेबारे नमुना मतपत्रमा सिकाउनेछन्।’
घरदैलो बन्द गरी डिजिटल माध्यमबाट पनि मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता पौडेलले बताएका छन् । पौडेलले भने, ‘सञ्चारमाध्यम तथा आयोगको फेसबुक पेजबाट मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छौं’ ।
विगतको स्थलगत मतदाता शिक्षा प्रभावकारी नभएकाले मतदान केन्द्रमै सञ्चालन गर्न लागेको जनाइएको छ। विगतका निर्वाचनमा ५ प्रतिशत मत बदर हुने गरेको निर्वाचन तथ्यांकले देखाएको छ। आयोगले मतदाता शिक्षाको बजेट कटौती गरेको छ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अघिल्लो निर्वाचनमा यो शीर्षक झन्डै ८० करोड खर्च भएको थियो। यसपटक २४ करोड मात्रै बजेट विनियोजन गरिएको छ। विगतको मतदाता शिक्षा प्रभावकारी नभएको निष्कर्ष आयोगको अध्ययनले देखाएको पौडेलले बताए। ‘मतदाता शिक्षा धेरै खर्चिलो भएको हो ।
प्रभावकारी भएन,’ अर्यालले भने, ‘स्वयंसेवक पनि पूर्वाग्राही भए। दलीय स्वार्थबाट प्रेरित भए भन्ने गुनासाहरू आए।’ ३७ लाख नयाँ मतदाता परिचयपत्र छापेर मतदान केन्द्रमा पठाइएको पौडेलले बताएको छ ।
‘मतदाता शिक्षासँगै नयाँलाई मतदाता परिचयपत्र पनि बाँडिन्छ’, उनले भने। यसपटक १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदाताअधिकार पाएका छन्।
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्नमा पौडेलले भने, ‘गत निर्वाचनमा मतदाताको परिचय खुल्ने जुनसुकै कागजपत्र लिएर आउँदा मतदान गर्न दिने निर्णय भएको थियो।

