रौतहट – स्थानीय तह निर्वाचन आउन तीन दिनमात्र बाँकी रहेकाले रौतहटका उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम कसरतमा व्यस्त बनेका छन् ।
मौन अवधि सुरु भएपछि प्रचार गर्न नपाइने भएकाले मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारहरुलाई अहिले भ्याइनभ्याइ भएको छ । बिहानैदेखि घरदैलो गर्न निस्किएका उम्मेदवारहरू अबेर रातिसम्म पनि मतदातामाझ समय बिताइरहेका छन् ।
निर्वाचन मिति नजिकिंदै जाँदा रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारहरूको दौडाहाको क्रम बढेको छ । कुनै एउटा उम्मेदवार कुनै गाउँ-टोलमा पसेको सूचना पाउने बितिकै अर्को उम्मेदवार पनि सो टोलमा पुग्ने गरेका छन् ।
उम्मेदवारहरूले मतदाताले दिएको मत बदर नहोस् भन्नका लागि मतपत्रमा छाप लगाउने तरिका समेत सिकाइरहेका छन् । ठूलो मतपत्र र दर्जनौं चुनाव चिह्नले गर्दा मतदाता झुक्किने र पाएको मत पनि बदर भए ठूलो नोक्सानी हुने डर उम्मेदवारलाई रहेको छ ।
सरकारले चलाएको मतदाता शिक्षा प्रभावकारी नहुँदा आफूहरुले पनि टोली बनाएर गाउँगाउँमा मतदातालाई छाप लगाउने तरिका सिकाइरहेको गौर नगरपालिकाका मेयर उम्मेदवार मोहन यादव बताउँछन् ।
कांग्रेसबाट मेयरका उम्मेदवार रहेका यादवले भने , ‘मतदाताहरुले आफ्नो मतको सही प्रयोग गर्न र योग्य उम्मेदवार छान्न हामीले जनचेतना समेत फैलाइरहेका छौं’ । स्थानीय तह निर्वाचनमा रौतहटका उम्मेदवारहरुले विकासलाई प्रमुख मुद्दा बनाएका छन् ।
सडक, शिक्षा र स्वास्थ्य, कृषि र रोजगारी आफूहरुको प्रमुख एजेण्डा रहेको उनीहरू बताउँछन् । यसअघिका जनप्रतिनिधिले काम गर्न नसक्दा नगरको विकास र सुशासनको अनुभुति नहुन सकेकेले अबको दिनमा गौरलाई योजनाबद्धरुपले अगाडि बढाउने गौर नगरपालिकका कै अर्का मेयर उम्मेदवर सम्भु साह बताउँछन् ।
‘पहिलो स्थानीय चुनावपछि पनि गौरको सुमचित विकास हुन सकेन,’ साह भन्छन्, ‘मतदाता अहिले सचेत भएका छन्, सबै हेरेर बुझेर मात्रै मतदान गर्ने पक्षमा रहेका छन् ।’
फतुवा विजयपुर नगरपालिकाबाट मेयरका उम्मेदवार विजय यादवले मतदाताहरु माझ जनता चेतना फैलाउन र स्थानीय तहको अधिकार बारेमा बुझाउन घरदैलो कार्यक्रम गरिरहेको बताएको छ ।
मत माग्न मतदाताको घर, खेत र खलियानमा पुगिरहेको उनले बताएका छन् ।

