काठमाडौं – देश यतिबेला स्थानीय चुनावमा होमिएको छ। दलहरू प्रचारप्रसारमा व्यस्त रहेका छन्। यसपटक गटबन्धनका कारण महिला उम्मेदवारको संख्या विगतको चुनावमा भन्दा घटेको छ। तर, चुनाव प्रचारमा भने महिलाको संख्या बढी रहेको छ।
टिकट दिने समयमा महिलालाई पाखा लगाएपनि चुनाव प्रचारमा भने अधिकांश महिला प्रयोग भएका छन्। नवलपरासीकी कल्पना चापागाईं चुनावी अभियानमा हरेक दिन खटिन्छिन्। उनले अभियानमा पुरुष भन्दा महिला बढी भएको बताइन्।
उनले भनिन्, ‘धेरै महिला नै छौं। छिटो–छिटो घरको काम सकेर प्रचारमा निस्कन्छौं। आफनो उम्मेदवार जिताउन निस्कनेमा धेरै महिलाको सहभागिता रहेको छ।’
पोखराकी अञ्जु क्षेत्री पनि निरन्तर चुनावी अभियानमा रहेकी छिन्। पोखरा महानगरपालिका–५ की वडा सदस्य क्षेत्री यसपटक अध्यक्षको दावेरदार थिइन्। उनलाई पार्टीले टिकट दिएन तर पनि उनी निरन्तर चुनावी अभियानमा लागिरहेकी छन्।
उनीसँगै थुप्रै महिलाको टीम अभियानमा खटिएको छ। उनी भन्छिन्, ‘प्रचार प्रसारमा महिला, र्यालीमा महिला, आमसभामा महिला अनि पद पाउने पुरुष।’
चुनावी अभियानमा पुरुषभन्दा महिला नै बढी रहेको उनले बताइन्। हरेक घरबाट पार्टीलाई सहयोग गर्न चुनावी घरदैलोमा प्रायः महिला नै धेरै हुने गरेको उनको भनाइ रहेको छ।
प्रचारमा महिला सहभागी बढ्नु सुखद्
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘महिला भोटरको संख्या बढी छ, त्यसैले महिला सहभागिता बढ्नु स्वाभाविक हो। पछिल्लो समय महिलाहरू सक्षम र राजनीति बुझने हुनुभएको छ।’ उनले पुरुषको सहभागिता पनि राम्रै रहेको बताएको छ ।
जनता समाजवादीका उपेन्द्र यादव भने चुनावमा महिला सहभागिता बढनु भनेको शुभ संकेत भएको बताउँछन्। उनले भने, ‘महिला राजनीतिमा सक्रिय हुनु भनेको खुशीको कुरा हो, यो शुभ संकेत पनि हो।
हामीले खोजेकै यही हो।’ महिला उम्मेदवार घटेको विषयमा उनी भन्छन्, ‘महिला उम्मेदवार घटेका छैनन्, एशिया महादेशमा सबैभन्दा बढी नेपालको राजनीतिमा महिला सहभागिता बढेको छ।’
माओवादीका प्रमुख सचेतक देव गुरुङ भने पुरुषहरू वैदेशिक रोजगारीमा भएकाले महिलाको सहभागिता बढी भएको हुनसक्ने अनुमान गर्छन्। ‘युवाहरू धेरै विदेशमा हुनुहुन्छ नेपालमा महिला भोटरको सहभागिता पनि बढी छ। पछिल्लो समय राजनीतिमा महिलाले चासो राखेका छन्’ , उनले भने ।

