नेपाल – विश्वका समृद्धशाली मुलुकहरूमध्ये समृद्ध र शक्तिको दृष्टिकोणले अमेरिका एक नम्बरमा रहेको छ। अमेरिकालाई अमेरिकाकै आँगनमा बसेर नेपाली आँखाले हेर्दा बडो अचम्म र आश्चर्य लाग्छ।
हुनत यी आँखाहरूले त्यस्तो देखिएला भन्ने कल्पना गरिएको थिएन। लाग्छ, अब अमेरिकामा भौतिक पूर्वाधारका दृष्टिकोणले जमिनमा गर्नुपर्ने जति विकास हुन् ती भइसकेका देखिन्छन्। उसको नजर भनेको अब आकाश र अन्तरिक्ष मात्र रहेको छ।
अहिले अमेरिकाको जनसंख्या करिब ३३ करोड रहेको छ, जुन चीन र भारतपछि विश्वमा तेस्रो नम्बरमा पर्छ। अमेरिकाको साक्षरता प्रतिशत ९९ प्रतिशत रहेको छ। ५० वटा राज्यमा विभाजित अमेरिका आधुनिक प्रविधि र विज्ञानको प्रयोगले सर्वशक्तिमान रहेको छ।
संसारका प्रायः सबै मुलुकका मानिसहरू अवसरको खोजीमा अमेरिका आएका छन्। अमेरिका आप्रवासी मुलुक हो। संसारका सबैजसो आउन चाहने दक्ष जनशक्तिलाई स्थायी वा अस्थायी बासिन्दाका रुपमा अमेरिकाले भित्र्याएको देखिन्छ।
यतिसम्म कि केही निश्चित प्रक्रिया पूरा गरेपछि अमेरिकाले आफ्नै नागरिकता समेत प्रदान गर्दछ। आज करिब २१ हजार नेपाली नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिक बनेका छन् भने विभिन्न सञ्चारमाध्यमका अनुसार नेपाल जस्तो सानो मुलुकबाट करिब पाँच लाख नेपाली स्थायी र अस्थायी रुपमा अमेरिकामा बसोबास गरेका छन् भनिएको छ।
विश्व भूमण्डलीकरण भइसकेको छ। मानिस जन्मेको दृष्टिकोणले मेरो जन्मेको देश भन्ने होला तर आज विश्व नै एउटा विशाल देश बनिसकेको अवस्था छ। यो देश र त्यो देशका दुरीहरू साँघुरिएर संसार सानो बनेको छ। यो सानो डिभाइसमा सीमित रहेको छ।
मानचित्रमा देशका सीमा रेखाहरू विभिन्न रङ्गले कोरिएका भए पनि ती सीमारेखा पार गरेर कुनै एक देशको नागरिक विभिन्न उद्देश्यका लागि अर्को देशमा प्रवासिएको छ।
आज २१औं शताब्दीमा आउँदा ज्ञान र विज्ञानको विकास र विस्तारले दिनानुदिन नयाँ आविष्कारले चमत्कार हुँदै गएको छ। पृथ्वीको कुनै एउटा छेउमा बसी क्षण भरमा संसारलाई हेर्न, अध्ययन र विश्लेषण गर्न सक्ने भइएको छ।
सभ्यता र संस्कारहरू फराकिला हुँदै गएका छन्। कुनै एक देशमा जन्मिएको व्यक्ति त्यो देशको मात्र नभएर संसारको भएको छ। आज नेपाली नेपालको मात्र भएको छैन। संसारका प्रायःजसो देशमा नेपालीको उपस्थिति रहेको छ।
नेपाली सभ्यता, संस्कार, भाषा, संस्कृति, रहनसहन संसारमा फैलिएको छ। विश्वका कतिपय देशका गाउँठाउँका नाम समेत नेपालीकरण भएको छ। नेपालीहरूले विश्वको जुनसुकै कुनामा पुगे पनि आ–आफ्नो धर्म, संस्कार, मूल्य, मान्यतालाई निरन्तरता दिएको देखिन्छ।
मानिस भौतिक दुरीले आफ्नो जन्मभूमिभन्दा जति टाढा भए पनि आत्मिक दुरीले कहिल्यै टाढा हुन सक्दैन त्यसैले राष्ट्रियता, देशप्रेम र नागरिकको कर्तव्यको दृष्टिकोणले जन्मभूमिप्रति माया हुनु स्वाभाविकै र प्रकृतिप्रदत्त कुरा हो।
संसारका सम्पूर्ण प्राणीलाई बाँच्नको लागि चाहिने भनेको हावा, पानी र अन्न हो। कुनै बेला प्रकृतिमा मानिस लगायत अन्य प्राणी अत्यन्तै थोरै थिए। सायद जीवजन्तु कम हुँदा मिहिनेत र परिश्रम विना नै बाँच्न सजिलो थियो।
मानव सभ्यताको विकास हुँदै जाँदा मान्छेको पनि संख्या बढ्दै गएर मान्छेले आफू बाँच्नको लागि खेतीपाती गर्न थालेको देखिन्छ। मानव सभ्यताको सुरुमा ढुङ्गे युगमा मान्छेले प्रकृतिमा जे छ त्यही खाएर बाँचेको थियो।
मानिसको जनसंख्या बढ्दै गयो उसका आवश्यकताहरू पनि बढ्दै गएको छ । आवश्यकता नै आविष्कारको जननी हो भनिन्छ। मानिसका आवश्यकताले गर्दा विकास र उन्नति हुँदै गएको देखिन्छ।
भोको पेट र नाङ्गो शरीरले मान्छे केही गर्न सक्दैन त्यसैले उसलाई जीविका चलाउन केही न केही पेशा गर्नै पर्छ। कर्म, काम वा पेशा नगरेसम्म मान्छेलाई बाँच्न गाह्रो हुन्छ। विकासले जतिसुकै चरमोत्कर्षको रुप लिए पनि मानिसले काम नगरेसम्म उसको जीविका चल्न सक्दैन।
विश्वका जति समृद्धशाली मुलुक छन्, ती त्यत्तिकै समृद्ध भएका होइनन्। मान्छेको अथक् प्रयास र मिहिनेतबाट समृद्ध बनेका हुन्। अमेरिकाकै कुरा गर्ने हो भने १६ वर्षभन्दा माथिको र ६५ वर्षमुनिको प्राय:जसो मान्छे बेरोजगार छैन। ऊ हरेक दिन काम, काम अनि काम भन्दै जपेको हुन्छ। अमेरिकालीहरू जुनसुकै पेशामा जुनसुकै ठाउँमा जागिर खाए पनि काममा विभेद छैन। कामलाई अत्यन्तै सम्मान गरेका हुन्छन्।
सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको कुनै पेशा वा काम नै उनीहरूको मनमस्तिष्कमा रहेको हुन्छ। बचत गरेर नराख्ने परिपाटीले पनि सायद काम भनेर जप्नुपर्ने अवस्था रहेको हो।सरकारले पनि सकभर के कसरी हुन्छ, जनतालाई बेरोजगारी राख्न चाहन्न।
कानुनको कार्यान्वयन पक्ष अत्यन्तै कडा छ। यसले गर्दा ढिलासुस्ती, भेदभाव र भ्रष्टाचार हुन पाउँदैन। नेपालीको पनि पसिना सिंचित भएर धेरै देश विकसित हुन पुगेका छन् तर आजीवन कसैको परतन्त्र नभएको स्वतन्त्र मुलुक नेपाल सधैं पछाडि हुनु दु:खको कुरा हो।
१०४ वर्षको एकतन्त्रीय राणा शासन ३० वर्षको पञ्चायती शासनको अन्त्य गरी ठूलो त्याग, बलिदान र सङ्घर्षको परिणामस्वरुप बहुदलीय प्रजातन्त्र र त्यसपछि सङ्घीय गणतन्त्र ल्याउँदा समेत देशले विकासमा फड्को मार्न सकेको अवस्था छैन र जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुनसकेको छैन।
देश कहीं कतै अल्झिरहेको छ। देशमा समृद्धिको बाटोले गति लिन सकेको छैन। राज्यका सबै अङ्ग र निकायमा राजनीतिक हस्तक्षेपले अनियमितता र भ्रष्टाचार मौलाएको छ।
राजनीति सत्तालिप्सा र कुर्सी मोहले गर्दा पेशामा परिणत भएको छ। दलहरूले सिद्धान्त र विचारका जतिसुकै चर्का नारा लगाए पनि सत्ताको लागि जे र जसो गर्न पनि तयार हुन्छन्।
दलभित्र निजी स्वार्थका कारण गुट र उपगुट सुरु हुन्छन् त्यसपछि दल टुक्रिने र नयाँ दल बन्ने र पुनः सत्ताको लागि जस्तोसुकै फोहोरी खेल खेल्नाले वर्षौँदेखि राजनीतिक अस्थिरताले निकास पाउन सकेको छैन।
राजनीति मात्र प्राथमिकतामा पर्यो अन्य भौतिक पूर्वाधारदेखि जनताका आधारभूत आवश्यकताहरू जस्तै शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगार आदि पर्न सकेनन्। राजनीतिलाई मागी खाने भाँडो बनाइएको छ।
अब देशलाई प्रगतिको गोरेटोमा लैजानको लागि राजनीति सीमित मान्छेले मात्र गर्नुपर्छ। आज एउटा नेताका पछाडि लागेर हजारौं कार्यकर्ता पालिएका छन्। कामविना कुनै व्यक्ति वा दलको गुणगान गाएर थुप्रै कार्यकर्ता पालिएका छन्।
सबैभन्दा पहिले काम र काज विनाको अदृश्य आम्दानीलाई रोक्नुपर्छ र सबैजना काममा जोडिनु पर्छ। नेता र कार्यकर्ताको खल्तीमा आउने विना लगानी र श्रमको अदृश्य आम्दानीलाई रोक्नुपर्छ।
आज हरेक ठाउँमा अनियमितता र भ्रष्टाचार हुनुको मूल कारण भनेको बेरोजगार बसेका राजनीतिक पार्टीका टिके र झोले कार्यकर्ता पाल्दा पनि भएको छ। लोकतन्त्रका नाममा लुटतन्त्र मौलाएको छ। काम गर्ने जनशक्ति थोरै छ अनि काम नगरी खाने सङ्ख्या धेरै भएको हुनाले देशमा झन् गरिबी बढ्दै गएको देखिन्छ।
सधैंभरि दल र पार्टीको गीत गाउँदै हिंड्ने कार्यकर्तालाई काममा लगाउन सक्ने हो भने राजनीतिक स्थिरता आउने र विकासले गति लिन सक्छ। अमेरिकामा पनि राजनीतिक दल छन्, निर्वाचनमा सहभागी हुन्छन्।
केही दिन प्रचारप्रसार पनि हुन्छ, मतदान केन्द्रमा गएर जनता लाइन बसेर पनि मतदान गरेकै हुन्छन्। विभिन्न दलप्रति आस्था राख्ने सदस्य र कार्यकर्ता पनि हुन्छन् तर नेपाल जस्तो १२ महिना नै झोले भएर पार्टीको भजन गाउँदै हिंड्दैनन्।
सामान्य घरभित्र महिलाले गरेको सबै कामलाई परिवारको श्रम र आम्दानीमा जोडिनु पर्छ। महिलाले मात्र घरभित्रको काम गर्ने हो भन्ने परम्परित अन्धविश्वासलाई त्याग्नुपर्छ। हरेकको घरभित्रबाट नै महिला र पुरुषबीचको विभेद अन्त्य गरिनुपर्छ।
घरमा निश्चित उमेर माथिको कुनै पनि सदस्यले कम्तीमा कुनै निश्चित घन्टा तोकेर कुनै जागिर वा पेशा गर्न सक्यो भने आम्दानी बढ्छ, मानिस व्यस्त हुन्छ, उसलाई फुर्सदको समय मिल्दैन र त्यहाँ अनावश्यक केही कुरा हुन पाउँदैन।
अमेरिकासँग तुलना गरेर नेपालमा कहाँ काम पाउन सकिन्छ र भन्ने प्रश्न उठ्न सक्छ। हामी कतिपयले त आफूसँग सीप र क्षमता हुँदाहुँदै अर्कै मान्छे ल्याएर काम गरेका हुन्छौं, यस्तो अवस्थामा आफैं काम गर्नुपर्छ। काम भनेको सानो र ठूलो होइन भन्ने मानसिकतालाई अन्त्य गरी सक्ने काम जे पनि गर्न तयार हुनुपर्छ।
काम काम भन्दै जतिबेला पनि कामका पछाडि दौड्दा मानिस मेसिन नै बन्नुपर्छ भन्ने चाहिं होइन तर अहिले हामी नेपालीहरू जतिसक्दो काममा व्यस्त भई हाम्रो जीवनस्तरलाई उकास्नु पर्छ र समृद्ध नेपालको निर्माण गर्नुपर्छ।
दैनिक नै स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकारलाई जनताले घच्घचाउनुपर्छ। प्राकृतिक सम्पदाले भरिपूर्ण र सुन्दर मुलुक नेपाललाई भौतिक पूर्वाधार र सामाजिक जीवनको गुणस्तरका दृष्टिले पनि स्वर्गीय मुलुक बनाउन कटिबध्द होऔं।

