चितवन – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आएका छन् ।
भोलि हुने स्थानीय तह सदस्य निर्वाचनमा भोट हाल्न राजनीतिक दलका शीर्ष नेताहरु गृह जिल्ला चितवन आइपुगेका हुन् ।
प्रचण्ड बुधबार चितवन आएका छन् । उनी चितवनमा मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको भएको छ । प्रचण्डको मतदानस्थल भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ ।
सो मतदान स्थलमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन् । यस्तै, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डाराबाट मतदान गर्दैछन्।
उनले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्नेछन्। सो मतदानस्थलमा ३ हजार ६५ जना मतदाता रहेका छन् । यस्तै, एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० बाट मतदान गर्दैछन्।
भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक विद्यालयबाट मतदान गर्ने कार्यक्रम छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले भरतपुर ५ मा राष्ट्रिय आधारभूत विद्यालय तोरीखेतबाट मतदान केन्द्रबाट मतदान गर्नेछिन ।
भरतपुरका गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहालले भरतपुर १४ स्थित सुन्दरबस्तीबाट र एमालेका उम्मेदवार बिजय सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गर्ने भएको छन्।

