सबैलाई पठाउनु होला

आज शुक्रवार ७५३ स्थानीय तहका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्दैछन्। यो चुनावमा ५५,६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन्।

आज शुक्रवारको दिन ७५३ स्थानीय तहका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्दैछन्। चुनावमा ५५,६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन्। मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ।

मतदानपछि नङमा रङ्ग किन लगाइन्छ?

निर्वाचनमा मतदान गरिसकेपछि मतदाताको हातको नङमा लगाउने रङ्ग कस्तो हो र कति समय रहन्छ भन्ने लगायत केही प्रश्नको जवाफ हामीले यहाँ समेटेका छौँ।

मतदान गरिसकेको सङ्केतको रूपमा प्रयोग गरिने मसी यस पटक निर्वाचन आयोगमार्फत केन्द्रहरूमा पठाइएको अधिकारीले बताएका छन्।

कुल २१,९५५ वटा मतदान केन्द्रमा चार वटाको दरले मार्कर पठाइएको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

“हरेक केन्द्रमा तोकिए बमोजिम नमेटिने मार्कर पठाइएको छ। बोलपत्र आह्वान गर्दा आएकामध्ये सबैभन्दा कम मूल्यमा उपलब्ध मार्कर खरिद गरिएको छ,” अर्यालले भने।

किन प्रयोग गरिन्छ नङमा रङ?
निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठका अनुसार मतदान गरेका व्यक्तिको नङ र मासुको बीचमा रङ लगाइन्छ।

यसले मतदान गरेका र नगरेका मानिस पहिचान गर्न सहज हुने र दोहोर्‍याएर मतदान गर्नबाट रोक्न सकिने उनले बताए।

“कतिपय अवस्थामा चिन्ह मेटेर मतदान गर्ने प्रयास हुनसक्छ। त्यस्तो अवस्थामा हत्तपत्त नजाने मसीको प्रयोग हुन्छ,” उनले भने।

कसरी बन्छ मसी?
विज्ञहरूका अनुसार विकसित देशहरूमा बायोमेट्रिक प्रयोगबाट मतदान हुने हुँदा मसी लगाइन्न।

नेपाल लगायतका देशमा भने अझै पनि मतपत्रमा छाप लगाएर मतदान गरिन्छ र उसले मतदान गरेको पुष्टि गर्न नङमा मसी लगाइन्छ। यसरी प्रयोग हुने रङलाई मेट्न गाह्रो हुने मसी प्रयोग हुन्छ।

रसायनशास्त्री डा. अक्कलदेव मिश्रका अनुसार उक्त मसीमा सिल्भर नाइट्रेट नामक रसायन, अल्कोहल, एन्टिफङ्गल र एन्टिब्याक्टेरियल पदार्थहरूको प्रयोग गरिन्छ।

सामान्यतया गुलाबी रङको हुने मसीमा सूर्यको प्रकाश परेपछि कालो हुँदै जाने र मसीको रङलाई टिक्ने बनाउन सिल्भर नाइट्रेटको प्रयोग गरिने उनले बताए।

“निर्वाचनकै लागि बनाइने यस्ता मसीमा रङलाई केही समयसम्म रहने बनाउन १० देखि १८ प्रतिशत उक्त तत्त्व प्रयोग गरिन्छ,” मिश्रले भने।

मसीलाई छिटो सुक्ने बनाउन अल्कोहल मिसाइन्छ भने छालाजन्य समस्या नदेखियोस् भनेर जीवाणुरोधी रसायनहरू राखिने उनले बताए।

“छालाको रोग एकबाट अर्कोमा नसरोस् भनेर विशेष सावधानी अपनाइएको हुन्छ।”

त्यस्तै सुगन्धका लागि पनि विशेष रसायन प्रयोग हुने उनले जानकारी दिए।

कति समय रहन्छ?
दुईदेखि तीन हप्तासम्म रहने यस रङ मेट्नका निम्ति दैनिक प्रयोग हुने अम्लहरू प्रभावकारी हुन सक्ने डा. मिश्रले सुनाए।

“सामान्य खालका एसिडजन्य प्याज, कागतीको रसहरू प्रयोग गर्दा जान सक्छ। लगाउने बित्तिकै पानीले धुँदा कम समय रहने सम्भावना हुन्छ,” उनले रङ लामो समय नरहने उपायहरू सुझाए।

मसी लगाउनुअघि चिल्लो पदार्थ वा औषधिजन्य सामग्री लगाएको अवस्थामा छालाले उक्त मसीलाई नसोस्न सक्ने सम्भावना इङ्गित गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com