सबैलाई पठाउनु होला

काठमाडौं –     सरकारको निर्णय अनुसार आजदेखि सरकारी स्वास्थ्य संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भएका छन् ।

देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाले सोही अनुसार आजबाट बिदा कार्यन्वयनमा ल्याएका हुन  ।

तर केही ठूला अस्पतालले दुई दिन बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै आइतबार ओपीडी सेवालाई निरन्तरता दिएका छन् ।

प्राप्त जानकारी अनुसार आइतबार त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति , कान्ति बाल अस्पताल तथा स्त्रीरोग अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालले  ओपीडी सेवा सञ्चालन गरेका हुन  ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बिदाको विषयमा थप छलफल आवश्यक रहेको भन्दै हाललाई नियमित रुपमा आइतबार पनि विगतमा जस्तै सेवा सञ्चालन भइरहेको बताएको छ  ।

उनले भने, ‘दुई दिन बिदा गर्दा स्वास्थ्य सेवा धेरै अलपत्र हुन्छ । सरकारले दुई दिन बिदाको निर्णय गरेको हो  । तर त्रिभुवन विश्वविद्यालयले थप के निर्णय गर्छ । अहिलेको लागि अर्को निर्णय नभएसम्म सेवा सुचारू नै रहन्छ’  ।

त्यसैगरी चितवनको भरतपुर अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन भए पनि बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म न्यून शुल्कमा ओपीडी (पेइङ ओपीडी) सेवा सञ्चालन गर्ने बताए  ।

अस्पतालले आइतबारदेखि अन्यत्रका निजी अस्पतालमा भन्दा थोरै ‘कन्सल्टेसन’ शुल्क लिएर पेइङ ओपीडी सेवा दिने बताए  । अस्पतालले विशेषज्ञको कन्सलटेसन शुल्क ५०० रुपैयाँ र मेडिकल अफिसर कन्सलटेसन शुल्क ३०० रुपैयाँ तोकेको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आइतबार २०० भन्दा बढीले ओपीडी सेवा लिएका छन् ।

‘निजीमा भन्दा कम शुल्कमा सेवा दिएका छौं । सरकारले दिएको सेवासुविधा अनुसार बिदा नै दिएको भए हुन्थ्यो,’ डा. पौडेलले भने,’ तर नागरिकको चाहना अनुसार सेवा दिएका छौं ।’ वीर अस्पतालले पनि लगातार तीन दिनको बिदा परेका कारण आइतबार सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको  छ ।

तर अर्को हप्ता थप बिदाको विषयमा स्वास्थ्य मन्त्रालयको स्पष्ट जानकारी आएपछि लागु गर्ने अस्पताल निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताएको छ  । यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्वास्थ्यकर्मीको समयतालिका मिलाएर मात्रै बिदाको निर्णयमा जाने जनाएको छ ।

अस्पतालका निर्देशक डा. अमिर बाबुले भने, ‘आइतबारदेखि शुक्रबारसम्म फरक–फरक ६ वटा युनिटले काम गर्छन् ।  आइतबार बिदा हुने स्वास्थ्यकर्मीको समयतालिका मिलाउनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीको ड्युटी समयको होमवर्क गरिरहेका छौं ।’

आयुर्वेद चिकित्सालय नरदेवीले पनि आइतबार बहिरंगसहितका स्वास्थ्य सेवा सुचारु गरेको छ । ‘सेवाग्राहीको हित र स्वास्थ्यको मौलिक हकलाई मध्यनजर गर्दै आयुर्वेद चिकित्सा विकास समितिले आइतबार पनि चिकित्सालयको बहिरंग लगायतका सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

साविक बमोजिम सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । कान्ति बाल अस्पतालले भने तत्कालका लागि आइतबार बिदा दिने निर्णय तत्काल कार्यान्वयन नहुनेजानकारी दिएको  छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले अर्को निर्णय नभएसम्मका लागि आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत् सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतले पनि सूचना जारी गर्दै आइतबार बिदा दिने निर्णयबाट पछि हट्दै आइतबार नियमित सेवा दिने जनाएको हो  । गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com