गुनासो चौतारी चैत२८ । आजबाट भक्तपुरमा मनाइने विस्केट जात्रा सुरु हुँदैछ । ९ दिन ८ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुन लागेको हो। गत वर्ष कारोना भाइरसको त्रासका कारण सामान्य विधि गरेर मात्रै जात्रा सम्पन्न गरिएको थियो ।
यस बर्ष पनि स्थानीय प्रशासनले २५ जना भन्दा धेरै मानिसको भिड् नगर्नु भनेपनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ ।
आज दिउँसो २ बजेपछि जात्रा सञ्चालन हुने भक्तपुर नगरपालिकाले जानकारी दिएको छ ।
बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्ने परम्परा छ ।
विगतमा बिस्केट जात्राका क्रममा मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा हुने भएकाले यो वर्ष त्यस्तो अवस्था आउन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पार्ने जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जात्रालाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

