सबैलाई पठाउनु होला

महेन्द्रनगर –   कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ का सन्दीपकुमार उपाध्याय र कमलादेवी उपाध्याय पति, पत्नी हुन् ।

दुवै जनाले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराएको छ  ।

सन्दीप नेकपा एमालेका तर्फबाट वडा नं. ७ को खुल्ला सदस्य र कमलाले नेपाली कांग्रेसबाट महिला सदस्य पदमा उम्मेवारी दिएको छ ।

दुबै जना फरक–फरक ढंगले प्रचारमा खटिए, आआफ्ना पार्टीका मेयर, उपमेयर उम्मेदवारहरुसँग । उनीहरुको मेहनतले परिणाम देखायो । दुबै जना सदस्य पदमा निर्वाचित भएका छन् ।

एकले अर्कालाई मत पनि नदिएको उनीहरुले बताएको छ  । ‘हामी श्रीमान, श्रीमती हौं, तर, एकले अर्कालाई भोट हालेनौं,’ कमलाले भनिन्, ‘उहाँ एमाले,  म कांग्रेस । कसरी उहाँलाई भोट हाल्न सक्छु र ?’

एउटै परिवारको व्यक्ति भए पनि श्रीमानलाई भोट दिँदा राजनीतिक बेइमानी हुने भएकाले मत नदिएको कमलाले बताइन् ।

‘परिवारका सदस्य भए पनि हरेक व्यक्तिको विचार फरक फरक हुन्छ,’ उनले भनिन्, ‘विचार र सिन्द्धान्तले नै पार्टीमा जोडिने हो ।’

बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयले वडा नं. ७ मा निर्वाचितहरुको विवरण सार्वजनिक गरेको थियो । दुबै जना निर्वाचित भएका छन् ।

दुबै जना कसरी निर्वाचित हुनुभयो ? भन्ने प्रश्नमा कमलाले भनिन्, ‘टिकट पाएपछि वडाका सबै घरमा पुगेकी छु, सबैसँग मत मागेकी छु, उहाँले पनि सबैसँग मत माग्नु भयो होला ।’

महिला सदस्यमा कमलाले ७ सय ९२ मत पाएकी छन् भने उनका श्रीमान सन्दीपले खुल्ला सदस्यमा ७ सय ५५ मत पाएका छन् ।  दोश्रो खुल्ला सदस्यमा भने कांग्रेसका आयातबहादुर क्षेत्री ७५० मतसहित चुनिएको हो  ।

यो वडाको वडाध्यक्षमा नेकपा एमालेका ज्ञानेन्द्र बहादुर वहेकक्षेत्री ७६९ मतले विजयी भए, दलित महिला सदस्यमा कांग्रेसकी देविसरा सुनार ७९२ मतसहित निर्वाचित भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com