गोरखा – गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले ११ दिनको फरकमा विश्वका तेस्रो र चौथो अग्लो शिखर चुमेकी छन्।
वैशाख २३ गते कञ्चनजंघा (८,५८६ मि.) र मंगलबार ल्होत्से (८,५१६ मि.) हिमालको सफल आरोहण गरेकी हुन्।
मुलुकको ध्यान स्थानीय चुनावमा केन्द्रित भइरहेका बेला फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ भने हिमाल आरोहणमा व्यस्त रहेकी छिन्।
यसअघि उनले सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि.), धौलागिरी प्रथम (८,१६७ मि.), मनास्लु (८,१६३ मि.), अन्नपूर्ण प्रथम (८,०९१ मि.) र अमदब्लम (६,८१२) हिमालको आरोहण गरिसकेकी छिन्।
लगत्तै अरू दुईवटा हिमालसमेत यही सिजनमा आरोहण गर्ने योजना रहेको उनले सुनाइन्।
‘यही सिजनमा ८ हजार मिटरभन्दा अग्लो अर्को हिमाल आरोहणको सपना बुन्दैछु’, उनले भनिन्, ‘त्यसपछि नेपालतर्फबाट चढ्ने सबै उच्च हिमालको आरोहण सकिनेछन्।
तर हिम्मत र आँट मात्र भएर पनि नपुग्ने रहेछ।’ हिमाल आरोहण यात्रामा सहयोग गर्न उनले अनुरोध गरेकी छिन्।

