सबैलाई पठाउनु होला

पूर्वपश्चिम राजमार्ग –      तत्कालीन राजा महेन्द्र शाहले पूर्वपश्चिम राजमार्ग बनाएका हुन । त्यसले नेपाललाई पूर्वपश्चिम जोड्यो। तर, त्यो बाटो उनकै नाममा किन राख्नु पर्‍यो ? पूर्वपश्चिम राजमार्ग मात्र भन्दा हुन्छ।

किनभने यो देशको शासन सत्तामा तेस्रो शासक अर्थात् राजा ज्ञानेन्द्रले पनि जनताको नासो नेपाली जनतालाई नै सुम्पिएको अवस्था रहेको छ। जनता भनेको सबै नेपाली नागरिक हुन्।

यो देश वास्तवमा नेपाली जनताको हो। स्थानीय, क्षेत्रीय र राष्ट्रिय नेतालाई काम गर भन्ने र कराउने काम नेपाली नागरिकको हो। तर, नेताहरूबाट भने जनताको काम गर्ने भन्दा पनि नेता बन्नका लागि मात्रै तँछाडमछाड भइरहेको छ।

साना टुक्रे योजना ल्याउने र अलपत्र पार्ने काम मात्र भइरहेको छ। यसैले सानासाना टुक्रे योजनालाई केही समय थाँती राखेर भए पनि थोरै राम्रो काम गरे भइहाल्छ।हाम्रा नेताहरूमा राम्रो काम गरौं भन्ने भावना नभएको पनि होइन।

देशभरि नै पूर्वाधार विकासको लहर रहेको छ। यही कारण जिल्ला जिल्लामा टुक्रे योजनाहरू अघि सारिन्छ।  क्षणिक आफ्नो नाम चल्छ कि भनी नेताहरूले सुरु पनि गर्छन्। ती सुरु भएका योजनाहरू मूल मान्छे अथवा काम थालनी गर्ने मान्छे नभएपछि टुहुरा हुने गर्छन्।

स्थानीय नेताहरूलाई पनि यो ठाउँदेखि त्यो ठाउँसम्म काम गर्न पर्‍यो भनी माग आइरहन्छ। यसैले हाम्रा नेताहरूलाई भ्याइँनभ्याइ भएको  छ। यसै बखत दूधमा तर चोर्न पल्केकाहरू साम, दाम, दण्ड, भेदले नेतामै घुसी टोपलेका हुन्छन्। तिनले दूधको तर कुन सडक कुन सडकमा भनेर चोरेर खाइदिन्छन्।

तर दूध घटेको अथवा पोखिएको दोष मुख्य जिम्मेवार र सज्जन नेतामा नै लाग्न बेर लाग्दैन।  हाम्रो देश नजिकैको बर्माको रंगुनमा सैनिक सरकार सत्तामा रहेको  छ। त्यहाँकी नेत्री आङसाङ सुकी जेलमा छिन्। यसैबेला उनलाई सैनिक सत्ताले भ्रष्टाचार गरेको आरोपमा थप पाँच वर्ष जेल सजाय सुनाएको छ।

सैनिक सत्ताले सुकीका वकिललाई बोल्नसमेत प्रतिबन्ध लगाएको भन्ने समाचार आएको छ। नेपालमा भने जति नै भ्रष्टाचार गरे पनि दण्ड सजायको फितलो व्यवस्थाले गर्दा मौलाएको छ। यसैले नेताहरूलाई सोध्न मन छ कि अझै बाँडीचुँडीमा नै हुनुहुन्छ कि ?

किनभने हाम्रो देशमा बाहिर नआएका भ्रष्टाचार पनि धेरै छन्। हैन भने माथि भनिएकै फेरि उही कुरा दोहोर्‍याउन मन छ, सत्ताको चाकडीमा नै हुनुहुन्छ कि ?आयोजनाका लागि भन्दै लाखौं करोडौंको बजेट छुट्ट्याएका छन्। योजनाहरूमा नेताले थोरै भए पनि काम गराए भने राम्रो हो।

आफूले सुरु गराएको काम पछिसम्म स्थिर रहोस् भन्ने कुन नेतालाई लाग्दैन र ? प्रत्येक स्थानीय र क्षेत्रीय तथा राष्ट्रिय नेताहरूलाई यस्तो लाग्छ नै तैपनि यो काम ठूलो, मेरो पालामा भएको भन्न नपाइनु किन ? विडम्बना नै छ, पूर्वपश्चिम राजमार्गले पनि महेन्द्र राजमार्ग भन्न नपाउने भनेर दुःखमा पाएकै छ।

टुक्रे बाटोमा पिच गराउनुभन्दा ठूलो कुरा मेची महाकाली अविछिन्न रेल चल्नु हो। नत्र भने पूर्वपश्चिम राजमार्ग अझै टुहुरो नै रहनेछ। नेपालीहरूमा पूर्वराजा महेन्द्रलाई गाली गर्नेको कमी छैन। उनैले पूर्व पश्चिम राजमार्गको अवधारणा ल्याएर २०२८ मा परमधाम भएका थिए ।

उनले ल्याएको अवधारणा अघि बढ्यो र राजमार्ग बन्यो। तर, त्यसपछिका सरकारले पूर्वपश्चिम राजमार्गको विकल्पको रूपमा रेल चलाउन सकेनन्। नेपाल भारतको सीमा नाकासम्म आइपुगे पनि पूरै मुलुकभर रेल चल्न अझै ५० वर्ष लाग्ने देखिन्छ। रेलका कुरा मात्रै सुन्न पाइन्छ।

तर नेपालीले वास्तवमा रेल कहिले चढ्न पाउने हुन् ? त्यो भने अझै भन्न सकिने अवस्था छैन।  नजिकै छिमेकी मुलुक भारतमा अंग्रेजहरूको शासनकालमा रेल सेवा सञ्चालनमा आएको थियो। नेपालमा भने कुनै पनि सरकारले मेची महाकाली रेल चलाउने अवधारणा पनि ल्याउन सकेका छैनन्।

सञ्चालनको कुरा त परै जाओस्। मेची महाकाली रेल ५० वर्षमा भए पनि योजनाबद्ध रूपले अघि बढाउन जरुरी रहेको छ। खण्डखण्ड गरी भए पनि निर्माणको काम जाँगर लगाएर अघि बढाउन आवश्यक रहेको  छ।

मेची महाकाली रेल चल्दै गरेको जनताले देख्ने अवसर पाउनै पर्दछ, हैन र ? रेलले मात्रै पूर्वपश्चिमका जनताको जीवनस्तर सुधार गर्नेछ। छिटो र सहज यात्रा हुनेछ। रेल भयो भने जनताले सस्तैमा पनि पूर्वपश्चिम यात्रा गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com