सबैलाई पठाउनु होला

वीरगञ्ज –   वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ ।

गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।

वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको भने अब १६ हजार २०५ मत गणना हुन बाँकी नै रहेको छ ।

तर जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि रहेका छन् ।

यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको छ । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।

राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।

यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरुदेखि नै अग्रता कायम राखेका थिए  । मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले ३ हजार ४५८ मत पाएका छन् ।

इम्तियाजको पनि जित सुनिश्चित

त्यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले भन्दा झण्डै ४ गुणा बढी मत ल्याएका छन् ।

इम्तियाजले २४ हजार ९१५ मत पाउँदा झाले हालसम्म ६ हजार ५६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १८ हजार ३४७ को मतान्तर देखिएको छ ।

उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ । हालसम्म मेयर पदमा १६ हजार २८५ र उपमेयरमा ३५ हजार ३६८ मत बदर भएको छ ।

साँझसम्म परिणाम आउन सक्ने संभाबना 

पर्सा जिल्लामै सबैभन्दा बढी मतदाता वीरगञ्ज महानगरपालिकामा छन् । त्यसैले मतगणनामा पनि समय लागेको छ । मतगणना स्थल नृसिंह माविका ७ वटा कोठामा मतगणना चलिरहेको छ ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले अब कुनैपनि वडाको मतपेटिका खोल्न बाँकी नरहेकाले साँझसम्म अन्तिम मत परिणाम आउन सक्ने बताएका छन्  ।

‘मतगणना निरन्तर जारी रहेको छ । अहिलेसम्म कुनैपनि अवरोध आएको छैन,’ उनले भने, ‘साँझसम्म अन्तिम परिणाम आउन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com