चितवन, ९ जेठ – भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल प्रमुखमा र उपप्रमुखका उम्मेदवार नेपाली कांगेसका चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको छ ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)की प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि हुनुहुन्छ । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाउनुभएको छ । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाकी हिमला गुरुङले २६ हजार ७४९ मत ल्याउनुभएको छ ।
प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुग्नुभएको हो । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ । महानगरपालिकामा जित नजिक पुग्नुभएकी दाहाल यसअघिको महानगरको प्रमुख हुनुहन्थ्यो । उहाँलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ भनिएतापनि उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले पाएको मतको तुलनामा कमी देखिएकाले कांगेसको मत भने पूर्ण रुपमा पाउन नसकेको प्रष्ट देखिन्छ । तर चित्रसेन अधिकारीले भने पूर्ण रुपमा गठबन्धन तर्फको मत पाएको देखिन्छ । निकटतम प्रतिद्वन्दीको रुपमा रहनुभएका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार हुनुभएको हो । उहाँलाई राप्रपाको साथ रहेको छ ।
राप्रपाको सैद्धान्तिक भाषासंग र एमालेको एमालेको भाषा मिल्न गएकाले एमाले र राप्रपा नजिक रहेको साथै स्थानीय चुनाबमा कतिपय ठाउंहरुमा यी दुई पार्टीवीच गठबन्धन रहेको छ ।

