सबैलाई पठाउनु होला

नेपाल –     वन, जंगलको संरक्षणमा ध्यान दिने र कृषि पेसालाई व्यावसायिक बनाएका विश्वका कुनै पनि मुलुक आर्थिक रूपमा कमजोर छैनन्। कृषिमा आत्मनिर्भर भए अर्थतन्त्र सबल बन्ने उदाहरण दिने मुलुक धेरै छन्।

मानव स्वास्थ्यसँग पनि जोडिएको यो क्षेत्रलाई बुझे घाटा छैन। यसो भए मुलुक धनी राष्ट्रको सूचीमा अटाउँछ नै। नेपाललाई कृषि प्रधान मुलुक भनिन्छ। तर, भनियो मात्रै। काम प्रधान भएन। ठूलो जनसंख्या कृषिमा निर्भर भएर पनि यो क्षेत्र मजबुत बन्न नसकेकै हो।

अर्थसँग जोडिएका हरेक क्षेत्रलाई सम्बोधन गर्न सक्ने कृषिका क्षेत्र अझै पनि ओझेलमा नै छन्। यसभित्र विकल्पको खेती अझै खोजिएन। बजेट ल्याउने उम्मेदवार हुने समयमा ‘कृषिमा क्रान्ति गर्ने’ भन्ने विषयका बुँदामा चर्चा हुन्छ। भएकै खेतीमा बजेट खन्याइन्छ।

तर, उत्पादन र विकाससँग जोडेर लगानी भएको छैन। कृषिमा व्यावसायिकता भनिन्छ। तर, व्यावसायिक बन्न सकिने क्षेत्र निर्धारण हुँदैन। खोजी गरिँदैन। शदीयौंदेखि पुर्खाले गरेका तरकारीजन्य खेती र खाद्यान्न बालीमा लगानी गर्न बाहेक नयाँ कृषिजन्य वस्तुको खोजीमा अझै हामी कमजोर छौं।

यसकै उपज हो बेरोजगारी वृद्धि, अर्थतन्त्र कमजोर र प्राकृतिक विपत्। कृषि क्रान्तिको कुरा गरे पनि मुलुकमा बाँझो जमिन घटेको छैन। गाउँका उर्वर भूमिमा खेती गर्न छाड्दा तराई र सहर नजिकका जमिन घरले ढाक्दैछ। संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुग्दा विकासका नाममा सडक खन्ने क्रम रोकिएको छैन।

अव्यवस्थित सडकले पहिरोको जोखिम पनि उत्तिकै रहेको छ। यी सबै नागरिकसँग प्रत्यक्ष जोडिएका समस्या हुन्। यी नै समस्याको समाधान गर्ने भन्दै सरकारले बर्सेनि अर्बौं बजेट छुट्ट्याउँछ। तर, प्रभावकारी छैन। भनिन्छ नि, ‘हरेक समस्याको समाधान हुन्छ।’

हामी समाधानका लागि कृषिबाटै विकल्प खोज्न सक्छौं। त्यो विकल्प हो ‘भेटिभर’को व्यावसायिक खेती अर्थात् भेटिभर खेतीमा लगानी। झट्ट सुन्दा अनौठो पनि लाग्न सक्छ। भेटिभरको खेतीले अर्थसँग जोडिएका क्षेत्रलाई सम्बोधन कसरी गर्छ ? प्रश्न उठ्नु स्वाभाविक हो। तर, यसलाई बुझे पहिरो नियन्त्रण र तटबन्ध निर्माणमा बर्सेनि सरकारबाट लगानी हुने अर्बौं बजेटको दोहन रोक्छ नै।

यसको खेतीबाट सरकारले आम्दानी पनि गर्न सक्छ। कृषकले व्यावसायिक खेती गरे भइरहेको अन्य खेतीको भन्दा दोब्बर आम्दानी हुन्छ। बेरोजगारले रोजगारी पाउँछन्। वायुमण्डललाई जोगाउँछ। कार्बन बिक्री गर्ने माध्यम बन्छ। हेर्दा एउटा सामान्य झार लाग्न सक्छ। तर, यसको उपयोगिता भुज्न र व्यवहारमा मात्रै लागू गर्न सके घाटा र असफलता नजिक आउँदैन।

के हो भेटिभर ?

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने एक प्रकारको झार अथवा घाँस हो भेटिभर। झट्ट हेर्दा कुशजस्तो देखिने यसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो। यसलाई खस–खस भनेर पनि चिनिन्छ।

बाह्रैमहिना उम्रिने यो गुच्छेदार घाँस हो। साढे एक मिटर (५ फिट) सम्म अग्लो हुने यसका पात उखुको जस्तै तर अलि साँघुरो हुन्छ। डाँठ सिधा र कडा हुन्छ। टुप्पोमा स–साना खैरो प्याजी रङका फूल फुल्छन्।

सबैभन्दा महत्त्वपूर्ण भाग भनेकै जरा हो। तारजालीजस्तै फैलिने यसको जरा जमिनमुनि तीन मिटर (१० फिट) भन्दा तलसम्म पुग्छ। जमिनमाथि यो लगभग पाँच फिट उचाइसम्म जान्छ।

नेपालमा भेटिभर खेतीको प्रयोगको अभ्यास कम रहेको छ। सामान्य कुरालाई वेवास्ता गर्दा सरकारले आर्थिक रूपमा ठूलो घाटा बोहोरिरहेको छ।

बहुगुण भएको यसको जरा सुगन्धित हुन्छ। यसबाट तेल निकाल्न सकिन्छ, जुन कम्तीमा ३० हजार लिटरसम्ममा बिक्री हुन्छ।

अम्लीय र क्षारीय दुवै खाले गुण भएको माटोमा यो सजिलै उमार्न सकिन्छ। बालुवा मात्रै भएको ठाउँमा पनि मज्जाले फस्टाउँछ। निक्कै छिटो बढ्न सक्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो। मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन पाँच सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ।

यसरी रोक्छ पहिरो, भूक्षय र नदी कटान

यसको सबैभन्दा महत्त्वपूर्ण भाग भनेकै जरा हो। चाँडो बढ्ने र जरा फैलने भएकाले कमजोर, बगिरहने माटोलाई निक्कै कडाइका साथ आपसमा जोडेर (बाइन्डिङ गरेर) राख्छ। हुर्किएको ६ महिनामै जरा फैलिएर माटो समाउने जाली बन्छ।

धमिलो पानीलाई समेत छानेर सफा बनाउन यसको जराले मज्जाले काम गरेको अनुन्धानबाट पुष्टि भएको छ। जमिनमुनि १० फिटसम्म जान सक्ने भएकाले रोपेको ठाउँमा पहिरो जाने सम्भावना नै हुँदैन भने नदी आसपासमा लगाए कटानलाई सजिलै नियन्त्रण गर्न सकिन्छ।

नेपालमा बाढी पहिरोको जोखिम उच्च रहेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम÷संकट निवारण तथा पुनर्लाभ ब्युरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३०औं स्थानमा पर्छ।

यसकारण पनि नेपालका हरेक क्षेत्रमा यसको खेती गर्न आवश्यक रहेको  छ। नयाँ सडक निर्माण सक्नसाथ दायाँ–बायाँका भूभागमा यसलाई लगाए माटो बग्न र पहिरो झर्न रोकिन्छ। कुनै पनि मौसम र आगोले समेत प्रभाव नपर्ने घाँस भएकाले जहाँ जहिले लगाए पनि फरक पर्दैन।

हाम्रो मुलुकमा पूर्व–पश्चिम राजमार्गको कृष्णभीरको पहिरो जस्तै यातायात नै अवरोध गर्ने ठूला पहिरा छन्। पहिरो रोक्न बर्सेनि करोडौं खर्च हुन्छ। तर, यहाँ भेटिवरलाई रोप्न सके समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ।

तराईमा तटबन्धका लागि सरकारको ढुकुटीबाट ठूलो रकम खर्च हुन्छ। बाढीले खेत पुरेर बगर बनाउँछ। बाढी नियन्त्रण गर्न नदी आसपास रोप्न सके कटान रोकिन्छ। ठूलाठूला जलविद्युत् आयोजना बनाउँदा आयोजना गृह आसपासमा रोपे त्यस ठाउँलाई यसको जराले मजबुत बनाउन मद्दत गर्छ।

उर्बर भूमि बनाउन सहयोग

भेटिभरको खेती गरेपछि जग्गा उर्वर भूमिमा परिणत हुन्छ। नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बगरमा परिणत भएकाले यस्ता जग्गालाई यसको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन सकिन्छ।

बाढी पहिरोबाट खेतीयोग्य जग्गा गुमाएका किसानलाई भेटिभरको सहयोगमा पुनः उर्वरभूमि बनाउन असहज छैन। खेतबारीको बीच भागमा अन्य खेती गरे पनि यसलाई वरिपरि बारको रूपमा समेत लगाउन सकिने अनुसन्धानबाट पुष्टि भएको छ।

आगो लगाउँदासमेत नमासिने, गाईबस्तुले पनि धेरै नखाने भएकाले खेतीको बार बन्न सक्ने देखिन्छ। बारसँगै माटोलाई मलिलो बनाउने हुँदा किसानको सहयोगी झारका रूपमा यसलाई सरकारले सिफारिस गर्न पनि सक्छ।

बायो इन्जिनियरिङ प्रविधिभन्दा अहिले चलनचल्तीमा रहेको इन्जिनियरिङ प्रविधि निक्कै खर्चिलो रहेको  छ। यसको प्रयोग हरेक क्षेत्रमा गर्न सके निक्कै प्रभावकारी मानिन्छ।

बायो इन्जिनियरिङको क्षेत्रमा तन्य शक्ति र जरा एकता उच्च हुनुपर्ने मान्यता  रहेको छ। यो सबैभन्दा बढी भेटिभरमा पाइन्छ। यसका तुलनामा अरू सबै वनस्पति (घाँस लगायत) धेरै कमजोर छन्। जति काटे पनि पुनः टुसाउने घाँस भएकाले मर्छ कि भन्ने चिन्ता गरिरहनु पर्दैन।

खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै फस्टाउँछ। भूमिगत पानीलाई रिचार्ज गर्न पनि सहयोग प्रदान गर्ने भएकाले यो लगाएको क्षेत्रमा सुकेका मुहान पुनः सञ्चालनमा आएको पनि भेटिएको छ।

रोजगारी र आम्दानी

नेपालमा बाढीले बगरमा परिणत गरेको करिब पाँच लाख हेक्टर जग्गा छन्। खेती नगरी राखेको जग्गा उति नै छ। यो पाँच लाख हेक्टरलाई कृषि यान्त्रीकरणको सहयोगमा व्यावसायिक र आधुनिक तवरले फर्माकल्चरमा आधारित एग्रो फोरेस्ट्रीको अवधारणा कार्यान्वयनमा ल्याउन सक्ने योजनालाई साकार पार्न सकिन्छ।

बाढीले बगर बनाइदिएको जग्गालाई पूर्व अवस्थामै ल्याएर किसानको जीवनस्तरलाई सुधार गर्न सकिन्छ। एकातिर किसानले राम्रो आम्दानी गर्ने स्रोत अझै खोजिरहेका छन्। अर्कातिर रोजगारीको खोजीमा लाखौं युवा विदेशिने क्रम रोकिएको छैन।

दुवैको उपाय भेटिभर खेती हो। यस्तो जग्गाको सदुपयोग गरी फलफूलबाली, गेडागुडीबाली, प्रमुख खाद्यान्नबाली, तरकारिबाली, दालबाली, जडीबुटीजन्य वस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सकिन्छ। साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रूपमा उपलब्ध गराउनुका साथै सरकारी सहयोगमा २० देखि २५ लाख युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ।

यसमा बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि जोड्न सकिन्छ। यसका साथै बायोइनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा टेवा, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन र सुरक्षा, स्वच्छ वातावरण, रोजगारको ग्यारेन्टी, वैदेशिक व्यापार घाटालगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ।

सरकारले के गर्नुपर्छ ?

नेपालमा भेटिभर खेती निक्कै कम रहेको  छ। सामान्य कुरालाई बेवास्ता गर्दा सरकारले आर्थिक रूपमा ठूलो घाटा व्यहोरिरहेको छ। किसानले राम्रो आम्दानी गर्ने स्रोत अझै खोजिरहेका छन्।

रोजगारीको खोजीमा लाखौं युवा बिदेसिने क्रम रोकिएको छैन। यी सबै समस्याको समाधान भेटिभरको खेती नै हो भनेर दाबीका साथ भन्न सकिन्छ। यसको बिरुवा नेपालमा नै उत्पादन भइरहेका छन्।

सबैभन्दा पहिले सरकारले किसानलाई यसको विषयमा चेतना दिने र खेती विस्तार गर्ने योजना बनाउनुपर्छ। बजेटमा नै यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ। प्रदेश र स्थानीय तहले पनि यसको उपयोगिता बुझेर किसानलाई बुझाउँदै खेतीमा लगानी गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com