गुनासो चौतारी चैत्र ३० । इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो ।पेट्रोल पम्पमा
आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् ।आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको बताएको छ ।
गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
आयल निगम भलबारीका डिपो प्रमुख प्रलयंकर आचार्यका अनुसार आयल निगमको भैरहवास्थित भलबारी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर विभिन्न पेट्रोल पम्पहरुमा पुर्याउन गएको त्रिमूर्ति ट्रान्सपोर्टको ट्यांकरमा आगलागी भएको हो ।
आठ हजार लिटर पेट्रोल आगलागी हुनुभन्दा अघि नै अर्कै डिपोमा खन्याइएको र चार हजार लिटर अभिषेक पेट्रोल पम्पमा खन्याइसक्दा आगो लागेको थियो । उनका अनुसार आगो लाग्दा ट्यांकरमा आठ हजार लिटर पेट्रोल बाँकी थियो । ट्यांकर जलेर नष्ट भए पनि पम्पलाई केही नभएको उनले बताए ।
आगलागी भएको स्थान भैरहवाबाट ४० किलोमिटर लुम्बिनीतर्फ भित्री क्षेत्रमा पर्दछ । रुपन्देहीमा यसअघि पनि भैरहवास्थित एक पेट्रोलपम्प र नेपाल आयल निगमको भलबारी डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको थियो ।
आयल निगम भलबारीका डिपो प्रमुख आचार्यका अनुसार यूरो-६ मापदण्डको तेल निकै पातलो हुने भएकाले पम्पमा खन्याउने क्रममा लिक हुने र यस्ता आगलागीका घटना दोहोरिएको अनुमान गरिएको बताए । यसबारे अध्ययन भइरहेको आचार्यले बताए ।

