काठमाडौं – आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ। थाइराइड घाँटीको अगाडिको भागमा रहेको पुतली आकारको ग्रंथी हो।
यसले एउटा हर्मोन बनाउँछ जसको मद्दतले मेटाबोलिज्म नियन्त्रणमा रहन्छ। हर्मोन लेभलमा गडबढी आउँदा शरीरमा धेरै समस्या निम्तिन्छ । जसका कारण अत्याधिक थकान, कपाल झर्ने, हातखुट्टामा झनझनाउने, घाँटी सुन्निने, मुटुको धड्कनमा परिवर्तन हुने जस्ता लक्षण देखिन्छन् ।
यो दिवस मनाउनुको उद्देश्य थाइराइडको बारेमा मानिसहरूलाई सचेत गराउनु हो। थाइरोइड ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा समस्या हुने गर्छ । थाइरोइड विशेष गरी ६० वर्ष माथिका महिलामा धेरै देखिन्छ।
तर आजभोलि निकै कम उमेरदेखि नै थाइराड भएको पाइन्छ। यो पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ। थाइराइड भएका यी समस्याहरु देखिने गर्छन्;
घाँटी सुन्निने : घाँटी सुन्निनु वा बढ्नु थाइराइड विकारको स्पष्ट संकेत हो । यसमा घाँटीमा डल्लोजस्तो हुन्छ। यो हाइपोथाइराइडिज्म वा हाइपर थाइराइडिज्म दुवैमा हुन सक्छ। कहिलेकाहीँ थाइरोइड क्यान्सर वा गाँठोको कारणले पनि घाँटी सुन्निन सक्छ।
ऊर्जा र मूडमा परिवर्तन : थाइरोइड विकारले ऊर्जा स्तर र मूडमा पनि ठूलो प्रभाव पार्छ। हाइपोथाइराइडिज्ममा, मानिसहरू थकित, सुस्त र उदासी महसुस गर्छन्। हाइपर थाइराइडिज्मले चिन्ता, निद्रामा समस्या, बेचैनी र चिडचिडापन निम्त्याउँछ।
अत्याधिक तौल बढ्नु वा घट्नु : तौलमा परिवर्तन हुनु थाइराइड विकारको सबैभन्दा सामान्य लक्षण हो। तौल बढ्नुले थाइरोइड हर्मोन कम हुने संकेत गर्छ, जसलाई हाइपोथायराइडिज्म भनिन्छ। अर्कोतर्फ थाइराइडले धेरै हर्मोन बनायो भने तौल पनि धेरै कम हुन थाल्छ । यसलाई हाइपर थाइराइडिज्म भनिन्छ। हाइपोथाइराइडिज्म अधिकांश मानिसहरूमा पाइन्छ।
मुटुको गतिमा परिवर्तन : थाइराइड हर्मोनले शरीरको लगभग हरेक अंगलाई असर गर्छ। जसका कारण मुटुको धड्कन पनि परिवर्तन हुन थाल्छ । हाइपोथाइराइडिज्म भएका मानिसहरूको मुटुको गति सामान्य भन्दा कम हुन्छ, जबकी हाइपर थाइराइडिज्म भएकाहरूको मुटुको गति छिटो हुन्छ। यसले रक्तचाप पनि बढाउँछ।
कपाल झर्नु : कपाल झर्नु थाइराइड हर्मोन असन्तुलनको अर्को लक्षण हो। यो समस्या हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्म दुवैमा हुन सक्छ। धेरैजसो अवस्थामा, थाइरोइड डिसअर्डरको उपचार पछि कपाल फेरि बढ्छ।
धेरै चिसो वा तातो महसुस : थाइरोइड विकारले शरीरको तापमान नियमित गर्ने क्षमतालाई कमजोर बनाउँछ। हाइपोथाइराइडिज्म भएका मानिसहरूलाई सामान्यभन्दा बढी चिसो महसुस हुन्छ। जबकि हाइपर थाइरोइडिज्म भएका मानिसहरूलाई धेरै पसिना आउँछ।
अन्य लक्षणहरू : हाइपोथाइराइडिज्ममा अन्य लक्षणहरू जस्तै छाला सुख्खा हुनु र नङ भाँचिनु, हात खुट्टा सुन्निने, कब्जियत, महिनावारीमा गडबढी पर्छन् । हाइपरथाइराइडिज्मका लक्षणहरू मांसपेशी कमजोर हुनु वा हात काँप्नु, आँखाको समस्या, पखाला, अनियमित महिनावारी आदि हुन्।

